म्याग्दीमा १ वर्षमा ७६२ ओटा व्यावसायिक फर्म थपिए

म्याग्दी । म्याग्दीमा पछिल्लो एक वर्षमा ७६२ उद्योग तथा व्यावसायिक फर्म थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ५०० उद्योग र २६२ ओटा वाणिज्य फर्म दर्ता भएका हुन् । २०७७ साउनदेखि २०७८ असार अन्तिम हप्तासम्म दर्ता भएका उद्योग र वाणिज्य फर्मबाट रू. २६ लाख ८ हजार राजस्व संकलन भएको कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए । ‘पहिलेदेखि नै सञ्चालन भएका उद्योग तथा फर्महरू कानूनी दायरामा आउनुका साथै उद्यम व्यवसायतर्फको आकर्षणका कारण दर्ता संख्या बढेको हो,’ उनले भने, ‘नयाँ फर्म तथा उद्योग दर्ता गर्नेमा धेरैजसो युवा छन् ।’ उद्योग दर्ताबाट १४ लाख ३४ हजार  र वाणिज्य फर्म दर्ताबाट ११ लाख ७४ हजार राजस्व संकलन भएको छ । नयाँ दर्ता भएका ५०० ओटामध्ये ३६८ ओटा कृषि तथा वन पैदावारमा आधारित छन् । यसअघि दर्ता भएका २९८ उद्योग र ३९८ ओटा वाणिज्य फर्म नवीकरण भएका छन् । चालू आर्थिक वर्षमा कुल १ करोड १६ लाख २८ हजार बजेट विनियोजन भएको घरेलु कार्यालयले भौतिकतर्फ ९९ प्रतिशत र वित्तीयतर्फ ७६ प्रतिशत प्रगति गरेको जानकारी दिएको छ । यसैगरी १५१ जनालाई उद्यमशीलता विकास, ३८ जनालाई युवा उद्यमशीलता शीप विकास, २७ जना उद्यमी सृजना, १६ जनालाई उद्योग प्रवर्द्धन, कोरोनाका कारण श्रम छाडेर घर फर्केका ३५ जनालाई शीप विकास र १८ जनालाई परम्परागत शीपमा आधारित व्यवसाय प्रवद्र्धन तालीम प्रदान गरेको छ । कार्यालयले अल्लो तथा ढाकाको झोला, पर्स डिजाइन, हलुका सवारी चालक, सिलाइकटाइ, ब्युटी पार्लर, कम्प्युटर, हाउस वायरिङसम्बन्धी तालीम दिएको हो । यस्तै एघार पटक ११८ ओटा पसल तथा फर्मको बजार अनुगमन गरेको छ भने १६ जना उद्यमीलाई १३ लाख ७६ हजार रुपैयाँ बराबरको उपकरण वितरण गरेको छ । रासस

सम्बन्धित सामग्री

म्याग्दीमा ५७० उद्योग र व्यावसायिक फर्म थपिए

म्याग्दी– म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा ५७० उद्योग र व्यावसायिक फर्म थप भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ ३३८ उद्योग र २३२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । विसं २०७८ साउनदेखि २०७९ असारसम्म दर्ता, नवीकरण भएका उद्योग तथा फर्मबाट रु १६ लाख ८१ हजार ७५० राजस्व संकलन भएको कार्यालयका प्रमुख […]