काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हरित पूर्वाधारमा लगानी गर्न बेलायतलाई आह्वान गरेका छन् । बेलायतको संयोजनमा आगामी नोभेम्बर १ देखि १२ सम्म स्कटल्याण्डमा हुने ‘यूएन क्लाइमेट चेन्ज कन्फ्रेन्स’को पूर्वतयारी स्वरूप बुधवार आयोजित भर्चुअल छलफललाई सम्बोधन गर्दै लगानी बोर्डका उपाध्यक्ष समेत रहेका शर्माले नेपालको हरित पूर्वाधारमा लगानी गरी लाभान्वित हुन आह्वान गरेका हुन् ।
नेपालमा उत्पादित स्वच्छ तथा नवीकरणीय ऊर्जाको निर्यातले छिमेकी मुलुकको कार्बनको भार समेत कटौती गर्न समेत सहयोग पुग्ने अर्थमन्त्री शर्माले बताए । सन् २०३० सम्ममा उच्च मध्यम आय भएको राष्ट्रको स्तरमा पुग्ने नेपालको लक्ष्यमा सघाउन बेलायती लगानीकर्तालाई उनले अनुरोध गरे । नेपाल सरकारको तर्फबाट सम्पूर्ण सहयोग तथा सहजीकरण रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । लगानी बोर्डको कार्यालय, बेलायतस्थित नेपाली दूतावास र बेलायत सरकारको अन्तरराष्ट्रिय व्यापार विभागको सहकार्यमा यो कार्यक्रम आयोजना भएको थियो ।
सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ऊर्जाक्षेत्रमा नेपालमा रहेको अपार सम्भावनाको उपयोग गर्न नेपाल र बेलायतका लगानीकर्तालाई आग्रह गरे । सो क्षेत्रमा वैदेशिक एवं हरित लगानी आकर्षण तथा प्रवद्र्धन गर्न लगानी बोर्डको कार्यालय कटिबद्ध रहेको उनले बताए । नवीकरणीय ऊर्जाको विकासका लागि नेपाल सरकारले नीति तथा कानूनको समयानुकूल सुधार गरी लगानीका लागि अनुकुल वातावरण तयार पारेको उनको भनाइ थियो ।
भर्चुअल छलफलका क्रममा पेरिस सम्झौताको भावना अनुसार कार्बन उत्सर्जन न्यूनीकरण गरी हरित र दिगो अर्थतन्त्र निर्माणका लागि नेपाल र बेलायतका निजीक्षेत्रबीच ऊर्जाको क्षेत्रमा सहकार्य हुने समझदारी समेत जुटेको छ ।