काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाई स्वदेशी काठ र काठजन्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ । ‘नेपालका काष्ठ, वन पैदावारको उच्चतम उपयोग, उत्पादन तथा आपूर्ति र विदेशबाट आयातको विस्थापन’ विषयक बैठकमा समिति सभापति दिलकुमारी रावल थापाले स्वदेशी काठको उच्चतम प्रयोग गर्दै आयात प्रतिस्थापन गर्नेतर्फ अग्रसर हुन सरकारलाई निर्देशन दिएकी हुन् ।
‘सम्बन्धित निकायसँग समन्वय गरी स्वदेशमै काष्ठ तथा वनपैदावार उत्पादन, आपूर्ति र यसको आयात विस्थापनमा सरकारले ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘सरकारी निकायले स्वदेशी काठ प्रयोग बढाउनेतर्फ सरकारलाई निर्देशन दिएका छौं ।’
वन तथा वातावरण मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले काठको आयात प्रतिस्थापनका लागि आवश्यक विधि तयार गर्न मन्त्रालयअन्तर्गत समितिसमेत गठन भइसकेको जानकारी दिए । वन संरक्षणसँगै उपभोग र व्यवस्थापनका लागि काम भइरहेको उनले बताए ।