ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

असार ३०, काठमाडौं । असार २० गतेदेखि निष्कासन तथा विक्री खुला भएको ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामको यस ऋणपत्र निष्कासन गरेको हो ।  बैंकले रू. १ अर्ब ५० करोड बराबारको १५ लाख कित्ता विक्री खुला गरेको हो । प्रतिऋणपत्र रू. १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्य ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानीकोषको लागि सुरक्षित गरी ५ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गर्नेछ ।  उक्त ऋणपत्रमा आवेदन दिने छिटो अवधि असार २३ गतेसम्म भएपनि ऋणपत्रमा पूर्ण आवेदन नपरेकाले ढिलो अवधि आज (मंगलवार) सम्म नै विक्री गरेको कम्पनीले जानकारी दिएको छ ।  यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्रीका लागि कम्पनीले जेठ २७ गते स्वीकृति पाएको थियो ।  बैंकको ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्युअर रेटिङ डबल बि प्लस प्रदान गरेको छ ।