रौतहटका ५ स्थानीय तहका जनप्रतिनिधिले फिर्ता गरे सवारी सुविधा

वैशाख ४, रौतहट । स्थानीय तह निर्वाचन आचारसंहिता लागू भइसकेकाले जनप्रतिनिधिले लिदै आएको सवारी सुविधा फिर्ता गर्न थालेका छन् ।  रौतहटका पाँच स्थानीय तहका जनप्रतिनिधिले लिदै आएको सवारी साधनको सुविधा फिर्ता गरीसकेका छन् । गौर, चन्द्रपुर, गढिमाई बोधीमाई र राजपुर नगरपालिकाका जनप्रतिनिधिले सरकारी सवारी साधन नगरपालिकालाई फिर्ता गरिसकेका हुन् ।  नगर प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षले प्रयोग गर्दै आएका साधन आचरसंहिता लागू भएपछि फिर्ता गरेका छन् ।  २०७९ साल वैशाख ३० गतेका दिन स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र निर्वाचन आयोगले निर्वाचन अचारसहिंता लागू गरी सकेकाले सरकारी सुविधा नलिने भन्दै सवारी साधन नगरपालिकलाई नै फिर्ता गरेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताए ।  आफूहरुले प्रयोग गर्दै आएको सवारी साधनको साँचो नगरपालिकाको कर्मचारीलाई बुझाएको उनले बताए । निर्वाचन अचार सहिंता लागु भएपछि नैतिक रुपमा सरकारी गाडी प्रयोग गर्न नमिल्ने उनको भनाइ छ ।  आसन्न निर्वाचनका लागि आचारसंहित लागू भइसक्यो उनले भने, ‘यसको पूर्ण रुपमा पालना गर्छौ । राजीनामा नदिएसम्म नगरवासीको कार्य भने गर्दै जाने उनले बताए । १६ नगरपालिका तथा २ गाँउपालिका गरी रौतहटमा १८ स्थानीय तह छन् ।