तिहारमा १८ लाख ५० हजार मालाको माग, एउटाको मूल्य कति पर्ला ?

दशैँ पछिको दोस्रो ठूलो चाडका रुपमा लिईने तिहार नजिकिँदै छ । बत्ती र फूलको चाडका रुपमा लिईने यो पर्वमा बत्तीका लागि स्वदेशकै बिजुलीले झिलिमिली हुने भएपनि फूल भने भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।स्वदेशी उत्पादनले नधानेपछि यस वर्ष तिहारका लागि ५० हजार बढी सयपत्री फूलको माला आयात हुने भएको छ । यति धेरै मात्रामा फूल आयात गर्नुपर्ने अवस्था भने केही दिन अघिको बेमौसमी वर्षाले गराएको हो । नत्र, उक्त परिणाममा माला ल्याउनुपर्ने अवस्था रहँदैनथ्यो भन्छन् पुष्प व्यवसायीहरु ।स्वदेशी उत्पादन नबढेको र टिप्ने बेलाको फूल बेमौसमी वर्षाले नष्ट गरिदिएपछि भारतबाट ल्याउनैपर्ने बाध्यतामा व्यवसायीहरु पुगेका हुन् ।माग बढ्यो, उत्पादन घट्योप्रत्येक वर्ष फूलको माग २० प्रतिशतले बढ्दै गएको व्यवसायीहरुको तथ्यांक छ । गत वर्ष भारतबाटै २ लाख सयपत्रीका माला ल्याईएको थियो । कोरोनाका कारण तिहारमा खासै व्यापार नहुने अनुमान गरेर पुष्प खेती गर्ने उद्यमी तथा किसानहरुले यसवर्ष लगानी बढाएनन् । जसका कारण उत्पादन खुम्चियो ।फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङ फागुनदेखि साउनसम्म फूल लगाउने, रोप्ने, गोडमेल गर्ने समय भएपनि यो अवधिमा कोरोनाको जोखिम कारण लगानी गर्न नसकिएको र अहिले माग अनुसार उत्पादन नभएको बताउँछन् ।‘माग बढेको छ, उत्पादन घटेको छ’ उनी भन्छन्, ‘माग बढेपनि यसपाली हामीले भारतबाट अत्यन्तै थोरै माला मात्रै ल्याउँदैछौँ ।’गत वर्षको भन्दा उल्लासले यसवर्ष दशैँ मनाएको हुनाले तिहार पनि त्यस्तै उल्लासमय हुने देखिएको छ । तर, स्वदेशी उत्पादनले फूलको माग पूरा गर्न नसक्ने भएको हो । १८ लाख मालाको माग, मूल्य बढ्नेयस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग रहेको एसोसियनसल बताएको छ । योमध्ये १५ लाख ५० हजार सयपत्री र ३ लाख मखमली तथा गोदावरी फूलको मालाको माग छ ।व्यवसायीहरुले माग बढी र उत्पादन कम भएकाले मालाको मूल्य बढ्ने पनि बताएका छन् । १ मिटर सयपत्री फूलको मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्नेछ । यसको २ वटासम्म माला बन्छ । तर, तयारी माला उपभोक्ताले खरिद गर्दा एउटाकै १२० रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको छ ।पुष्प व्यवसायमार्फत अहिले दैनिक ७० लाखको कारोबार हुने गरेको छ । वार्षिक ३ अर्ब बराबरको कारोबार हुँदै आएको पुष्प व्यवसाय अहिले फस्टाउँदै पनि छ । व्यावसायिक रूपमै १५७ हेक्टर क्षेत्रफलमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ ।