काठमाडौं (अस) । लक्ष्मी क्यापिटल मार्केट र एभरेष्ट बैंकबीच ऋणपत्र निष्कासन सम्बन्धी सम्झौता गरिएको छ । दुई संस्थाबीच २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि सम्झौता गरिएको हो । सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् ।
बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ जारी गर्न लागेको हो । प्रतिकित्ता एक हजार रुपैयाँका दरले २० लाख एकाइ ऋणपत्र विक्री गर्ने बैंकले जानकारी दिएको छ । ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि र १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गरिने बैंकले बताएको छ । ६ वर्ष अवधिमा वार्षिक साढे १० प्रतिशतका दरले ३/३ महीनामा ब्याज भुक्तानी हुने अवधि राखिएको बैंकको भनाइ छ ।