चैत २, धरान । पर्यटन प्रवर्द्धनका योजनाहरु व्यवहारमा लागू गर्न नसक्दा पर्यटकीय क्षेत्रहरुको आय आर्जन खस्किदै गएको छ ।
प्रदेश नम्बर एक सरकारले आयको प्रमुख स्रोतको रुपमा पर्यटनलाई नै वेवास्था गरेको छ, पर्यटन प्रवर्द्धनका योजनाहरु कागजमै सीमित रहेको छ ।
यसको उदाहरण सुनसरीको अमाह सिमसार बनेको छ । बराहक्षेत्र नगरपालिका ४ र ५ मा रहेको सिमसारको प्रवर्द्धनमा स्थानीय सरकारबाट खासै भूमिका खेल्न नसक्दा आयआर्जन खस्किदै गएको स्थानीयको गुनासो छ ।
गाउँकै आयआर्जनमा टेवा पुर्याउँदै आएको सिमसारको संरक्षण र प्रवर्द्धनमा सरकारले खासै भूमिका खेल्न नसकेको सिमसार संरक्षण उपभोक्ता समितिका अध्यक्ष भोजराज घले बताउँछन् । उनले भने, ‘माथिल्लो निकायहरुबाट केही बजेटहरु माग गरे अनुसारको आइरहेको त छ तर स्थानीय सरकार बनिसके पछि जति उहाँहरुको उत्तरदायित्व थियो त्यती हामीले पाउन सकेनौं ।’
सरकारले १ स्थानीय तह १ सिमसार क्षेत्र भन्ने अवधारण ल्याए पनि उपलब्धीमुलक काम गर्न नसकेको उनको आरोप छ । सिमसारको संरक्षण तथा प्रवर्द्धनको लागि २० लाख बरारको डि.पि.आर समेत तयार पारेको उनले बताए । उनले भने, ‘सिमसार क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्न हामीले एउटा डि.पि.आर समेत तयार पारेका छौं, जसलाई पूरा गर्न पर्याप्त बजेट हामीसँग छैन ।’ सिमसारको आफ्नै आन्तरिक स्रोतबाट पर्याप्त नभएकाले सरोकारवालाहरुको सहयोग आवश्यक रहेको उनले बताए ।
विद्यार्थीहरुले जैविक विविधता अध्ययन गर्न सक्ने गरि योजना तयार पारेको घलेले बताए । उनका अनुसार सिमसार क्षेत्रमा ‘ओपन जू’ को अवधारण समेत रहेको छ ।
स्थानीय स्तरमा पाइने रैथानेदेखि अन्य स्थानमा पाइने माछाहरु ल्याएर एक्वारेममा राख्ने योजना रहेको उनले सुनाए । समितिले तयार पारेको डि.पि.आरमा जैविक विविधता संग्रहालय, बोटानिकल गार्डेन लगायतका योजनाहरु रहेको अध्यक्ष घलले बताए ।
समुदायले संरक्षण गरेको घना जंगल र मानव वस्तीको बीचमा अवस्थित अमाह पोखरी डेढ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने सिमसार क्षेत्र ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
सिमसार क्षेत्रमा पछिल्लो समयमा आन्तरिक पर्यटकहरूको गन्तव्य बनिरहेको छ । विशेषगरी विदाको समयमा मानिसहरु अमाह सिमसारमा वनभोज खान, रमाइलो गर्न आउने गरेका छन् । पोखरीको बीचमा आइल्याण्ड (टापु) बनाइएको छ, जहाँ अमाह जलदेवीको मन्दिर छ । घुम्न आउने पर्यटकहरूले त्यहाँ पूजा पनि गर्छन् ।
जलदेवीलाई कागजको घोडाफूल र पानको पातमा फूलपाती बेरेर चढाउने चलन छ । मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने, दुःख तथा रोगव्याधीले नसताउने जनविश्वास छ ।
अध्यक्ष घलेले भने, ‘सिमसार र पोखरीको कारण यो ठाउँको पहिचान बनेको छ, यहाँबारे बारे सुनेर धेरै ठाउँबाट पर्यटकहरू आउँछन्, रमाउँछन्, खान्छन्, गाउँको आर्थिक गतिविधि पनि बढाएको छ ।’
यता बराहक्षेत्र नगरपालिकाका मेयर निलम बस्नेतले कोरोना कहरका कारण लगानी गर्न नसक्दा केही समस्या देखिएको बताउँछन् ।
उनले भने, नगरको प्रमुख प्राथमिकतामा रहेका योजनाहरु पर्यटन प्रवर्द्धनमै रहेको छ, तर कोरोनाको समयमा बजेट उपयोग गर्न नसक्दा सोचे जस्तो गर्न नसकिएको हो ।’ नगरले वार्षिक रुपमा विभिन्न पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि बजेट विनियोज गर्दै आएको उनले बताए ।