नेपाल र भारतबीच केही महीनाअघि जलविद्युत् विकासका लागि सम्झौता र समझदारी भएको छ । यसलाई दीर्घकालीन विद्युत् व्यापारको संज्ञा दिइएको छ । पञ्चेश्वरलगायत कतिपय जलविद्युत् आयोजनाको निर्माणका लागि विगतमा पनि सन्धिसम्झौता भएका थिए । निर्माण सम्पन्न गर्ने समयावधि पनि तोकिएको थियो । तर, ती जलविद्युत् आयोजना अलपत्र छन् । नेपालले ती जलविद्युत् आयोजनामा न अन्य राष्ट्रका जलविद्युत् उत्पादकहरूलाई परिचालन गर्न सक्छ न नेपाल आफैले निर्माण गर्न सक्छ । भारतीय लगानीमा निर्भर रहनुको विकल्प देखिँदैन । जलविद्युत् विकासका लागि भारतसँग सन्धिसम्झौता हुने तर निर्माण नहुने पुरानै रोग हो । अरूण तेस्रो जलविद्युत् आयोजनाको निर्माणले भारतीय लगानी आकर्षित गरेको तथ्यले निश्चय पनि आशा जगाएको छ । यो जलविद्युत्को विकास र निर्यातका लागि भएको पहिलो दीर्घकालीन सम्झौता हो । नेपाली स्वतन्त्र जलविद्युत् उत्पादकहरूलाई यसले उत्साहित बनाएको छ । उपलब्ध सीप र साधनको प्रयोग गरी जलविद्युत् विकास गर्दा भारतीय बजारमा निर्यात गर्न बाटो खुलेको छ । विगतमा यस प्रकारको सम्झौता हुन नसकेका कारण स्वतन्त्र जलविद्युत् उत्पादकहरू विद्युत् विकासका लागि उत्साहित थिएनन् ।
भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताले विद्युत् उत्पादन क्षेत्रमा संलग्न उत्पादकहरूलाई निश्चिय उत्साहित बनाएको छ । तर, यसले आँट, जाँगर, प्रतिबद्धता र लगनशीलता ल्याउन सकेको छ जस्तो लाग्दैन ।
जलविद्युत् विकासको परिप्रेक्ष्य
नेपालको जलविद्युत् विकासका लागि भएको पहलको इतिहास लामो हुँदाहुँदै पनि नेपाललाई उज्यालो बनाउने बिजुली उत्पादन हुन सकेको छैन । अर्थात् मागअनुसार बिजुली आपूर्ति भएको छैन । एक शताब्दीभन्दा बढीको जलविद्युत् विकासका लागि भएको पहलको इतिहासले के देखाउँछ भने जलविद्युत् विकासले गति लिन सकेको छैन । आन्तरिक मागअनुसार बिजुली आपूर्ति हुन सकेको छैन । नेपालसँग रहेको जलविद्युत् भण्डार प्रकृतिले दिएको निःशुल्क उपहार हो । यसको सही उपयोग गरेर निर्यात गरे मात्र देश समृद्धिको मार्गमा प्रवेश गर्न सक्छ । यसमा कसैको पनि दुईमत हुन सक्दैन । नेपालीहरूलाई कामले होइन, भाषणले समृद्ध बनाउने कसरतले प्रथमिकता पाइरहेको छ । अझ भन्ने हो भने नेपालमा ढटुवाहरूको बोलावाला छ । जसले ढाँट्न सक्यो ऊ बढी सफल भएको मानिन्छ । ढटुवाका सामु देश झुकिरहेको छ । भाषण हुन्छ, नेपाललाई सिंगापुर बनाउने । काम हुन्छ, नेपालाई निर्धन र असफल राज्य बनाउने । नेपालको आजको वास्तविकता यही हो । सरकार फेरबदल भइरहन्छ र सरकारको नेतृत्वमा पनि परिवर्तन हुन्छ । कोही सत्तापक्ष हुन्छ कोही प्रतिपक्ष । गलत र भ्रामक पक्षको सबैबाट प्रशंसा हुन्छ किनभने नेपालमा सत्य र देशलाई समृद्ध बनाउने कार्यमा कसैको पनि ध्यान गएको पाइँदैन । त्यसैले सत्तापक्ष होस् वा प्रतिपक्ष गलत र भ्रामक कुराको बचाउका लागि एक जुट हुने र एकआपसमा छलफल हुने गर्छ ।
वायुप्रदूषणले पीडित
अनवीकरणीय ऊर्जाको अधिक प्रयोगले भारतका ठूलाठूला शहर वायुप्रदूषणले आक्रान्त छन् । नवीकरणीय ऊर्जाको उपलब्धता यसको प्रयोगले यी शहरहरू स्वस्थ र हराभरा बनाउन सकिन्छ । हुन त भारतमा नवीकरणीय ऊर्जाका स्रोतहरू जलविद्युत्, वायु र सौर्य आदिको पर्याप्त प्रयोग पनि भइरहेको छ र यिनीहरूको विकासको सम्भावना पनि त्यत्तिकै छ । भारतमा घरायसी ऊर्जा प्रयोगको अथाह सम्भावना छ । यसअतिरिक्त भारतमा, उद्योग व्यवसाय पर्याप्त छन् । लत्ताकपडा, खाद्यान्न, सवारी साधन, औषधि उत्पादन, पानीजहाज र रेल निर्माणसम्बन्धी ठूलाठूला उद्योग छन् । यी उद्योगबाट उत्पादित वस्तुले विश्वभरका उपभोक्तालाई आकर्षित गरिरहेको छ । जनसंख्याको हिसाबले भारत विश्वको ठूलो देश हो । भारतमा उत्पादित वस्तु तथा सेवाहरूको अधिकांश अंश भारतमा नै उपभोग हुन्छ । यसका अतिरिक्त भारतले वस्तु तथा सेवाको उत्पादन क्षमतामा उत्कृष्टता वा विशेषज्ञता प्राप्त गरिसकेको छ, जसका कारण भारतमा बनेका वस्तु तथा सेवाको उपभोग विश्वका कुनाकुनामा हुने गरेको छ । यी वस्तु तथा सेवा उत्पादनका लागि ऊर्जाको आवश्यकता पर्छ । भारतमा यी उद्योग व्यवसायको सञ्चालनमा नवीकरणीय र अनवीकरणीय दुवै ऊर्जाको प्रयोग भइरहेको छ । यसमा पनि अनवीकरणीय ऊर्जाको अधिक प्रयोग भइरहेको छ । यसले वातावरणलाई प्रदूषित बनाइरहेको छ, जसका कारण भारतका अधिकांश शहर प्रदूषित छन् । प्रदूषणमुक्त शहर त्यस बखत सम्भव छ जुन बखत नवीकरणीय ऊर्जाको प्रयोगमा बाहुल्य हुन्छ । यिनै र विविध कारणले भारत नवीकरणीय ऊर्जाको खोजी र विकासमा लागिपरेको छ । यसैको परिणाम हुन सक्छ, नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता ।
१० वर्षमा ११ हजार मेगावाट
नेपाल र भारतबीच हालैै भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताले नेपालको जलविद्युत् विकासका लागि नयाँ अध्याय थपेको छ । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसले नेपालको बिजुली भारततर्फ निर्यात गर्न बाटो खुलेको छ । सरकारी तथा गैरसरकारी जलविद्युत् उत्पादनमा संलग्न संस्थाहरू उत्साहित हुन पुगेका छन् । विद्युत् व्यापारको ढोका बन्द भएका कारण नेपालको जलविद्युत्को विकासले गति लिन नसकेको तर्कहरू गरिँदै आएको छ । हुन त यो तर्कमा कुनै दम छैन । नेपाली उखानै छ, ‘जुन गोरुको सिङ छैन उसको नाम तिखे ।’ आँट, जाँगर र प्रतिबद्धताको अभावले जलविद्युत्को विकास हुन सकेको छैन । बिजुलीको उत्पादन गरेर आपूर्ति बढाउन सके यसले आफ्नो माग आफै सृजना गर्छ । ‘नमच्चिने पिङका सय झट्का’ भने जस्तै बिजुली उत्पादन गर्न गराउन नसक्नेले बजारको अभावको बहानाबाजी गर्ने हो ।
हो, भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताले विद्युत् उत्पादन क्षेत्रमा संलग्न उत्पादकहरूलाई निश्चय पनि उत्साहित बनाएको छ । तर, यसले जलविद्युत् विकासमा आँट, जाँगर, प्रतिबद्धता तथा लगनशीलता ल्याउन सकेको छ जस्तो लाग्दैन । यसको अभावमा शताब्दीऔंदेखि खेर गइरहेको जलविद्युत्को उपयोग हुन सक्दैन । यसको विकासका लागि प्रतिबद्धता, इमानदारी, स्वच्छता, त्याग, तपस्या र आँटको आवश्यकता पर्छ । यसअतिरिक्त राष्ट्रिय सहमतिका साथै विविधता होइन, एकताको खाँचो छ । आलोपालोमा प्रधानमन्त्री हुने दलका नेताहरूको कार्यशैली यसको विकासमा बाधक बनिरहेको छ । जलविद्युत् विकासका लागि यिनीहरूबीच छलफल र संवाद हुने गरेको छैैन । प्रत्येक प्रधानमन्त्रीका पालामा एक न एक कमिशन र भ्रष्टाचारका घटना भएका छन् र यो क्रम जारी नै छ । तिनीहरूको छानबिनको कुरा यदाकदा निस्कने गर्छ । तर, कसैले पनि यसको जिम्मेवारी लिने गरेको छैन । बरु यसलाई ढाकछोप गर्न संवाद र सहमति हुने गर्छ । देशलाई समृद्ध बनाउन सक्ने जलविद्युत् विकासका लागि भने संवाद र सहमति हुने गरेको छैन ।
अन्त्यमा नेपालको आजको आर्थिक, सामाजिक र राजनीतिक परिप्रेक्ष्यमा आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात हुन सक्दैन । कुनै जलविद्युत् आयोजनाको छनोट र सम्भाव्यता अध्ययनमा नै यो अवधिको समाप्त हुने कुरामा शंकामा छैन । यदि कुनै एक ठूलो जलविद्युत् आयोजनाको निर्माण हुन लागिहाल्यो भने पनि कमिशन र भ्रष्टाचारको भागबन्डाले त्यसलाई ओझेलमा पारिन्छ । त्यसैले कार्यान्वयनमा जाने कुराको आशा पनि गर्न सकिँदैन ।
लेखक अर्थशास्त्री हुन् ।