काठमाडौँ । नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राखेको सो प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
काङ्ग्रेसले गाउँ/नगर, वडा अधिवेशन आगामी असार ५ गते, गाउँ/नगरपालिका अधिवेशन असार ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १ गते, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने निर्णय गरेको छ ।
काङ्ग्रेसले पार्टीको विधानमा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरूको पदावधि चार वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्थालाई नेपालको संविधानबमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा छ महिना थप गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको छ । उक्त निर्णय पार्टीको आगामी चौधौँ महाधिवेशनमा राखिने पार्टी कार्यालयले जनाएको छ ।