काठमाडौं । नेपालको जनगणना २०७८ को पूर्ण विवरण आएसँगै नेपालको अर्थतन्त्रलाई निर्धारण गर्ने पक्षहरूका आँकडा सार्वजनिक हुन थालेका छन् । यस जनगणनाको हालै सार्वजनिक तथ्यांकअनुसार नेपालमा ६६ लाख ६० हजार ८४१ घरपरिवारमा आधुनिक सरसुविधाका साधनमा इन्टरनेटको प्रयोगको अवस्था कस्तो रहेछ भन्ने तथ्यांक पनि एक महत्त्वपूर्ण मापकको रूपमा देखापरेको छ । नेपालमा कुल घरपरिवारमध्ये ३७ दशमलव ७५ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने गरेको पाइन्छ ।
उक्त सुविधाको प्रयोग गर्नेमा नगरपालिका र गाउँपालिकामा ठूलो विषमता देखिएको छ । नगरपालिकामा इन्टरनेट भएका घरपरिवारको हिस्सा ४५ दशमलव ७० प्रतिशत रहेको छ भने यो हिस्सा गाउँपालिकामा यो हिस्सा २१ दशमलव ४८ प्रतिशत रहेको छ ।
हिमालमा इन्टरनेट प्रयोग गर्नेको हिस्सा १७ दशमलव शून्य ४ प्रतिशत रहेको छ भने यो पहाड र तराईमा क्रमश: ४३ दशमलव ३९ प्रतिशत र ३५ दशमलव २९ प्रतिशत छ । प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशमा इन्टरनेट प्रयोग गर्नेको हिस्सा २० दशमलव २८ प्रतिशत रहेको छ भने बागमती प्रदेशमा ५५ दशमलव १६ प्रतिशत रहेको छ ।