‘नवनायक’ हरूको ताउरमाउर

'एउटा दुःखी देशले नायकको खाँचो बोध गर्छ ।’ प्रख्यात जर्मन साहित्यशिल्पी बर्तोल्त ब्रेख्तको नाटक ‘लाइफ अफ ग्यालिलियो’ मा प्रयुक्त यी शब्दहरूले कहीँ न कहीँ नेपाली समाजको चरित्रलाई पनि बयान गर्छन् । नेपाली समाज सदैव एउटा नायकको खोजीमा हुन्छ । यहाँ नायक बन्ने र बनाउने दौडधुप चलिरहन्छ । जस्तो कि, यो समय चलिरहेको छ । यति बेला सिङ्गो नेपाली समाजमा निराशा, आक्रोश र चरम असन्तुष्टि व्याप्त छ । यो आक्रोश र असन्तुष्टिको सुई कुनै बखत समाजले नै ‘नायक’ करार गरेका नेताहरूप्रति लक्षित छ । जनताका आशा, अपेक्षा र भरोसामा खरो उत्रन नसकेका पुराना ‘नायक’ हरू अब आम असन्तुष्टि र निराशामा कतै पुरिँदै छन् । र, त्यही आक्रोशको जगमा नयाँ ‘नायक’ हरू जन्मिँदै छन् । अर्थात्, नेपाली राजनीतिका ‘आइकन’ हरू फेरिँदै छन् ।