कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

फागुन १३, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले माघ ७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो ।  यो हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले पुस २६ गते (एक दिन) बुक क्लोज गरेकाले पुस २५ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य भएका छन् ।  कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा रू. ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको यस कम्पनीको हकप्रद पश्चात चुक्तापूँजी रू. ५० करोड पुग्नेछ ।  कम्पनीको अधिकृत पूँजी रू. ६४ करोड र जारी पूँजी रू. ५० करोड रहेको छ । हकप्रद पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ । यो हकप्रद शेयर विक्री प्रबन्धमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुसँगै मेरो शेयर मार्फत पनि यो शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।  कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । आर्थिक वर्ष ०७९/८० सम्ममा कम्पनीले चुक्तापूँजी रू. ५५ करोड कायम गर्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. ११ लाख ५५ हजार खुद नाफा गरेको छ भने जगेडा कोष रकम रू. १४ करोड १६ लाखभन्दा बढी छ ।  वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव १३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ९२ छ ।