महेन्द्रनगर। कञ्चनपुरको प्रमुख बजार महेन्द्रनगर बिहीवार बन्द गरिएको छ। पछिल्लो समय कञ्चनपुर प्रहरीले सामान राखिएका गोदाममा नियमित रूपमा छापा मारेको भन्दै स्थानीय व्यवसायी आन्दोलित बनेका हुन् । प्रहरीले चाडपर्वको मुखमा छापा मारेर आतंकित बनाएको भन्दै व्यवसायीले त्यसको विरोध गरेका छन् । उनीहरूले सीमा जाँचपासमा नाकामा कडाई गर्नुपर्नेमा चाडपर्वको समयमा गोदाममा छापा मारिएको भन्दै गुनासो गरेका हुन् ।
गड्डाचौकीस्थित कञ्चनपुर भन्सारबाट साइकल क्यारिङमार्फत सामान भित्त्याइएको प्रहरीको दाबी छ । भन्सार र सशस्त्र प्रहरीसँगको मिलोमतोमा अवैध रूपमा सामान भित्रिने गरेको व्यवसायीहरू नै बताउँछन् । प्रहरीले गत शुक्रवार तस्करीका प्लास्टिकजन्य सामानको गोदाममा छापा मारेको थियो । भीमदत्त नगरपालिका–१८ का सुशील गुप्ताले सञ्चालन गरिरहेको हिमांशु प्लास्टिक स्टोरको गोदाममा छापा मारेकोे प्रहरीले ११ लाख रुपैयाँका भन्सार छलीका सामान बरामद गरेको बताइएको छ । त्यस्तै बुधवार पनि प्रहरीले ९ लाख रुपैयाँका सामान नियन्त्रणमा लिएको बताएको छ । भीमदत्त नगरपालिका–४ का विष्णु गुप्ताको पसल र गोदाममा प्रहरीले छापा मार्दा ९ लाख रुपैयाँ मूल्यका खाद्यान्न सामग्री र किराना सामान फेला पारिइएको हो । प्रहरीले गुप्तालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले चाडपर्वको समयमा प्रहरीले छापा मारेर व्यवसायीलाई आतंकित बनाएको बताए । उनले अवैध कारोबारकोपक्षमा संघ नरहेको बताउँदै राज्यका निकायले सीमामा कडाई गर्नुपर्नेमा जोड दिए । अध्यक्ष जोशीले प्रशासन र सुरक्षा निकायसँग आवश्यक छलफल गरी निष्कर्ष निकालिने बताए । साथै संघले अवैध रूपमा कारोबार, कालोबजारी र मूल्य वृद्धि नगर्न व्यवसायी आग्रह समेत गरेको छ ।