भाइरल तोरीबारी घुम्नेबाट आम्दानी लिँदै सहकारी

म्याग्दी (अस) । पछिल्लो समय सञ्चार माध्यम  र सामाजिक सञ्जालमा बेनी नगरपालिका–१ रत्नेचौरको तोरीबारीमा थामिनसक्नु भीड भाइरल भयो । म्याग्दी, बागलुङ र पर्वत सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट रत्नेचौरमा पहेंलपुर फुलेको तोरीबारीमा पुगेर तस्बिर खिचाउने र टिकटक बनाउनेको ताँती नै लाग्यो । तोरीबारीमा घुम्न गएका धेरैजसो युवती फाँटमा पहेंलपुर तोरीबारीमा मखमली चोलो र पोलिस्टरका गुन्यु, पटुका, गरगहना, बाला, कानमा मडवारी, तिलहरि, औंठी, चुराजस्ता संस्कृति र भेषभूषा झल्किने पोसाकमा समेत सजिए । रत्नेचौरको फाँटमा सयौं तन्नेरी पुगेर दैनिक तोरीबारीलाई फेसबुक, टीकटक, इन्स्टाग्राममा कैद मात्रै गरेनन्, रत्नेचौर महिला बचत तथा ऋण सहकारीले जनजातिको पोसाक भाडामा दिएर एक महिनामै करिब ६० हजार आम्दानी गरेको छ । सहकारीले आफ्नो सहकारीको साधारणसभा तथा समुदाय स्तरमा आयोजना हुने कार्यक्रमलाई लक्षित गरी ३० हजारमा १० सेट खरिद गरेको संस्थाका सचिव सुलोचना केसीले बताइन् । ‘तोरीबारीले मगर समुदायको भेषभूषाको पनि प्रचार–प्रसार भयो । शुल्कलाई जातीय पोसाक प्रवर्द्धनमै खर्च गर्छौं,’ केसीले भनिन् । रत्नेचौरका महिलालाई आर्थिक, सामाजिक तथा आयर्आजनको क्षेत्रमा समेत सहयोग गरिरहेको सहकारीले तोरीबारीमा पोसाक प्रयोग गर्ने स्थानीयलाई १ सय र बाहिरबाट आउनेलाई २ सय रुपैयाँ लिने गरेको छ । केहीले आपूmसँगै भएको भेषभूषासमेत लिएर जाने गरेका छन् । सहकारीकी अध्यक्ष सुनिता बोगटीले आगामी वर्ष क्षेत्रीसहित अन्य जातजातिको भेषभूषासमेत संस्थामार्फत उपलब्ध गराउने योजना रहेको सुनाइन् । ‘घुम्न आउनेबाट रत्नेचौरको प्रचार–प्रसार भएको छ । हामी निकै उत्साहित छौं,’ बोगटीले भनिन् । कोभिड महामारीका कारण तोरीबारीमा धेरै भीडभाड बढेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले प्रवेशमा रोक लगाएको थियो । अचेल फाट्टफुट्ट घुम्न जानेले समेत पोसाक प्रयोग गर्दै आएका छन् । म्याग्दी मगर समुदाय बाहुल्य क्षेत्र हो । यहाँ धर्म, संस्कृति र चाडपर्वबाहेक सार्वजनिक कार्यक्रममा समेत मगर भेषभूषाको प्रयोग बढी हुने गर्छ । मगर समुदाय गीत र नृत्यमा सोरठी, घाटु नाच, झ्याउरे, मारुनी नाचको छुट्टै महत्व रहेको छ ।

सम्बन्धित सामग्री

सहकारीद्वारा तोरीबारी घुम्न भाडामा पोशाक, मासिक ६० हजार आम्दानी

म्याग्दी । म्याग्दीमा जनजातिको पोशाक भाडामा दिएर रत्नेचौर महिला बचत तथा ऋण सहकारी संस्थाले एक महिनामा करिब ६० हजार आम्दानी गरेको छ । पछिल्लो समय म्याग्दी, बागलुङ र पर्वत सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट बेनी नगरपालिका–१, रत्नेचौरमा पहेँलपुर फुलेको तोरीबारीमा पुगेर तस्बिर खिचाउने र टिकटक बनाउनेको ताँती लाग्ने गरेको छ । तस्बिर खिचाउन र टिकटक […]