रुसमाथि धमाधम प्रतिबन्ध लगाउँदा पनि इन्धनको कर आम्दानीमा ४५% वृद्धि, कहाँ जाँदैछ रुसी तेल ?

जेठ ९, काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको ९० दिन बित्नै लागेको छ । रुसी अर्थतन्त्रको मुख्य खम्बा तेल निर्यात धराशयी बनाउन यूरोपेली देशहरुले रुसी तेल आयात कटौती गरेका छन् । अमेरिकाले आयात बन्द गर्ने घोषणा गरिसकेको छ । सात औद्योगिक देशहरुको समूह जी–सेभेनले पनि अघिल्लो सप्ताहन्तमा रुसी तेल आयात क्रमिक रुपमा घटाएर आयात ठप्पै बनाउने घोषणा गरेका थिए ।  तर रुससँग अझै पनि टन्नै क्रेताहरु छन् । यिनीहरुले गर्ने तेल आयात रुस सरकारको राजस्व उच्च राख्न र आवश्यक खर्चबर्च धान्न पर्याप्त हुने बताइएको छ । युक्रेनमाथि आक्रमण अगाडि रुसले दैनिक रुपमा ७८ करोड ५० लाख ब्यारेल कच्चा तथा प्रशोधित तेल युरोपलाई बेच्थ्यो । तर युक्रेनमाथि आत्रमण भएयता यूरोपले एक्कासी रुसी तेल र ग्यासमाथिको निर्भरता कम गर्ने घोषणा गर्यो । युक्रेनी संकटयता विश्वमा कच्चा तेलको भाउ बढेको छ । यसैबीच नयाँ क्रेताको खोजी र एशियाली बजारमा निर्यात बढाउने नीति लिइरहेको रुसलाई कच्चा तेलको भाउमा भएको वृद्धिले फाइदै भइरहेको छ ।  यसपाली रुसी तेल उत्पादनमा उच्च कटौती हुने अपेक्षा गरिएको भएपनि तेलमा भएको वृद्धिका कारण रुसको कर आम्दानी उच्च मात्रामा बढेर १ खर्ब ८० अर्ब डलरमाथि उक्लिने स्वतन्त्र अनुसन्धान कम्पनी रेस्ट्याड इनर्जीले बताएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४५ प्रतिशत उच्च हुनेछ । ट्याङ्कर ट्राफिकको प्रवृत्ति हेर्ने हो भने रुसको कच्चा तेल निर्यात बढीमा २० प्रतिशतले घटेको छ । मार्च ८ मा अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउँदा दैनिक औसत १७ ट्याङ्कर रुसी बन्दरगाहबाट छुट्ने गरेकोमा यो घटेर १३ मा आएको वाशिङ्टन पोष्टका लागि स्पायर ग्लोबलले गरेको अध्ययनले देखाएको छ ।  युद्धका कारण रुसमाथि लगाइएको प्रतिबन्धको वेवास्ता गर्दै भारत र चीनले धमाधम रुसी तेल किनिरहेका छन् । कुनै समयमा रुसी तेलले भारतको कूल खपतमा ३ प्रतिशत कम हिस्सा ओगटेथ्यो । अहिले यो निरन्तर बढिरहेको छ । मार्चमा भारतले रुससँग दैनिक २ लाख ७४ हजार ब्यारेल तेल किनेको थियो । अप्रिलमा यो बढेर ६ लाख २७ हजार ब्यारेलमा पुगेको अन्तरराष्ट्रिय डेटा न्यूज कम्पनी एसएन्डपी ग्लोबलको तथ्यांकले देखाएको छ । अप्रिलमा रुस भारतको चौथो ठूलो तेल आपूर्तिकर्ता बनेको छ । अप्रिलको दैनिक आयात दर सन् २०२१ को औसत दैनिक तथ्यांक भन्दा २० गुणा बढी हो । मेमा भारतको तेल खरीद थप बढेको देखिन्छ ।  चीन पहिलादेखि नै रुसको सबैभन्दा ठूलो एशियाली क्रेता थियो । पछिल्लो समय चीनले रुसी तेल खरिदको मात्रा बढाएको छ । मेमा समुद्री मार्ग भएर चीनको दैनिक रुसी तेल आयात ११ लाख ब्यारेलमा पुग्ने क्रममा छ । यो यस वर्षको पहिलो त्रैमासको भन्दा दैनिक ३ लाख ५० हजार ब्यारेल धेरै हो भने सन् २०२० को दैनिक ३ लाख ब्यारेल धेरै हुनेछ । अमेरिका र यूरोपले प्रतिबन्ध लगाएपछि कसरी तह लगाउन भएको तेल रुसले अन्तरराष्ट्रिय बेच्नमार्कको तुलनामा निकै सस्तोमा दिएपछि भारतको लागि रुसी तेल पानीभन्दा पनि सस्तो भएको छ ।  यू्रोपले रुसी तेल आयातमा बन्देज लगाउने तयारी गरेयता पश्चिमी बजारमा कच्चा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट र डब्ल्यूटीआई ११० डलरमाथि छ । युक्रेनमाथि हमला गर्नु पूर्वको तुलनामा अहिले रुसले घरेलु बेञ्चमार्क उराल ब्रेन्ट क्रुडभन्दा ३४ डलर सस्तोमा बेचिरहेको छ । अर्थतन्त्र सुस्ताइरहेकै समयमा यति सस्तो रुसी तेल किन्न पाउनु चीनको लागि वरदानै भएको छ । इन्धन आयातको महसुल बढेर व्यापार घाटा बढ्ने अवस्थामा पुगेको भारतको लागि त झन यो सुनौलो अवसर नै भइहाल्यो घाटा कम गर्ने । मध्यपूर्व, अफ्रिका, यूरोप र अमेरिकाबाट ल्याउने तेल भन्दा चीन र भारत दुबैका लागि अहिले रुसी तेल निकै सस्तो भएको छ । भारतले पनि प्रतिब्यारेल ७० डलर आसपासमा रुसी तेल किनिरहेको छ ।  मेमा चीनले सरकारी सम्झौता अन्तर्गत पाइपलाइनमार्फत दैनिक झन्डै ८ लाख ब्यारेल तेल पाइरहेको छ । यसको अर्थ चीनले मात्रै अहिले रुसबाट दैनिक रुपमा २० लाख ब्यारेल तेल आयात गरिरहेको छ । यो भनेको चीनको समग्र मागको १५ प्रतिशत हो । भारत र चीनको तेल खरीदले रुसमाथिको आर्थिक प्रतिबन्धको प्रभाव निकै हदसम्म सहन मद्दत मिलिरहेको छ । तर पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणले चाँहि रुसलाई झट्का दिएको विशलेषकहरु बताउँछन् । कोभिडका कारण चीनको तेल खपत दैनिक १० लाख देखि १५ लाख ब्यारेलले घट्ने अनुमान गरिएको छ । चीनले भविष्यमा आइपर्न सक्ने आकस्मिक अवस्थाको तयारी स्वरुप रणनीतिक भन्डारण बढाइरहेको छ । यसका लागि उसले रुससँग अतिरिक्त तेल खरीद सम्बन्धी वार्ता शुरु गर्दैछ । यसले पनि रुसी तेल बजारले थप टेवा पाउनेछ ।   भारत र चीनबाहेक पनि पछिल्लो समय इटलीले पनि रुसी तेल खरीद बढाएको छ । मेमा रुसले इटलीतर्फ दैनिक ४ लाख ५० हजार ब्यारेल तेल निर्यात गरेको छ । यो यही वर्षको फेब्रुअरीको तुलनामा ४ गुणा धेरै हो । यी तीन देशबाहेक पनि टर्की, जर्जिया र अन्य केही अफ्रिकी देशहरुले पनि भारी छूटमा रुसी तेल किनिरहेका छन् । छूट दिएर प्रतिब्यारेल ७० डलरमा बेचेपनि यो गएको आठ वर्षमा कच्चा तेल विक्रीका लागि सरकारले तोकेको आधिकारिक मूल्यभन्दा बढी नै हुने अमेरिकी ऊर्जा सूचना प्रशासनको तथ्यांकले देखाएको छ । हंगेरी, रोमानिया, चेक गणतन्त्र र स्लोभाकियालाई रुसी तेल आयात रोक्ने समयतालिकामा लचकता अपनाउन अनुमति दिन सक्ने सम्भावना पनि देखिएको छ ।  रुसलाई कृष्ण सागरबाट मेडिटेरियन हुँदै स्वेज नहर भएर एशियाली बन्दरगाहसम्म तेल पठाउन कम सास्ती छैन । यूरोपतर्फ पठाएको ट्याङ्क २ हप्तामै रुस फर्किसक्थ्यो । तर एशियाली बजारसम्म तेल पठाएको ट्याङ्क फर्केर आउन महिना दिनभन्दा बढी लाग्छ । तेल पुर्‍याएर ट्याङ्कर आइपुग्न बढी समय लाग्ने भएपछि एकातिर ट्याङ्करको अभाव हुन सक्ने अवस्था छ भने अर्कोतर्फ ढुवानी खर्च पनि बढ्नेछ । अहिले तेल निकालिरहेको कुवा बन्द गर्दा हुन सक्ने स्थायी क्षतिका कारण सन् २०३० मा रुसको तेल उत्पादन युक्रेनमाथि आक्रमण गर्नु पूर्वको तुलनामा दैनिक २० लाख डलर कम हुन सक्ने रेस्ट्याड इनर्जीका दारिया मेल्निकले बताएका थिए । अहिले रुसमाथि लगाइएको प्रतिबन्ध शुरुआती चरणमा भएकोले कच्चा तेलको  उच्च भाउलेसरकारको कर आम्दानी बढ्ने नै छ । तर एशियामा निर्यात केन्द्रीत गर्न समय लाग्ने अनि पूर्वाधारमा ठूलो लगानी गर्नु पर्ने भएकोले रुसलाई  मध्यकालीन अवधिमा फाइदा भने धेरै नहुने विश्लेषकहरुले बताएका छन् ।