पर्साको तिलावे पुलको निर्माण ३ दिनभित्र सुचारु गर्ने सहमति

वीरगञ्ज । पर्साको अधिकांश क्षेत्रलाई सदरमुकाम वीरगञ्जसँग जोड्ने हुलाकी राजमार्गमा निर्माणाधीन तिलावे नदीको पुलको निर्माण ३ दिन (मंसिर १ गते) भित्र सुचारु गर्ने सहमति भएको छ । हुलाकी राजगमार्ग निर्देशनालय योजना कार्यालय, वीरगञ्ज र पुल निर्माणको जिम्मेवारी लिएको पप्पु/लुम्बिनी जेभीका प्रतिनिधिहरूको सहभागितामा भएको छलफलले ३ दिनभित्र काम शुरू गर्ने सहमति बनाएको हो । तीन वर्षमा निर्माण पूरा गर्ने गरी ठेक्का सम्झौता भएकोमा ५ वर्ष बितिसक्दा निर्माण ६५ प्रतिशतमात्र सकिएको छ । सदरमुकाम जोड्ने मुख्य मार्गमा रहेको पुल निर्माण नहुँदा अहिले साँघुरो र जीर्ण पुलबाट आवागमन भइरहेको छ । पुल निर्माणमा भइरहेको ढिलाइ र बढ्दो सवारी चापका कारण सो स्थानमा घण्टौं जाम लाग्ने गरेको छ । समयमै पुल नबन्दा पर्साका बासिन्दा पीडित भएको भन्दै स्थानीयले प्रदर्शनसमेत गर्दै आएका छन् । हुलाकी राजमार्ग आयोजनाले २०७३ असारमा पप्पु/लुम्बिनी जेभीलाई ७ करोड ७१ लाख रुपैयाँमा पुल निर्माणको ठेक्का दिएको थियो । शुरूमा पप्पुले निर्माणको अगुवाइ गरेकोमा २०७६ मंसिरमा बाँकी काम लुम्बिनीले गर्ने सहमति भएको थियो । हुलाकी राजमार्ग आयोजनाका अधिकारीहरूको रोहवरमा यस्तो सहमति भएको थियो । सोही सहमतिअनुसार बाँकी काम लुम्बिनी बिल्डर्सले गर्ने हुलाकी राजगमार्ग वीरगञ्जका प्रमुख दरोगा प्रसादले बताए । ‘३ दिनभित्र काम सुचारु गर्ने सहमति भएको छ । निर्माण व्यवसायीले आजैदेखि काम शुरू गरिसकेको छ,’ प्रमुख प्रसादले सोमवार आर्थिक अभियानसँग भने । आयोजनाले २८ महीनापछि नक्सा उपलब्ध गराउनु, कोरोनाका महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी, निषेधाज्ञा र बर्खाका कारण ढिलाइ भएको निर्माण व्यवसायीको भनाइ छ । कोरोना महामारीलाई कारण देखाएर सरकारले निर्माण पूरा हुन नसकेका सबै आयोजनाको म्याद चैत मसान्तसम्म थपेको छ । तिलावे पुलको बाँकी काम चैतभित्र सकिने विश्वास आयोजना प्रमुख प्रसादले व्यक्त गरे । कोरोनालाई कारण देखाएर म्याद थपिए पनि दैनकी सामान्य बनिसक्दा पनि निर्माण व्यवासायीले काम अघि बढाएको थिएन । आयोजना कार्यालयले ठेक्का तोड्ने तयारी थालेपछि निर्माण व्यवसायी काम सुचारु गर्न तत्पर भएको हो । स्थानीय युवाहरूले पनि तत्काल पुल निर्माणको माग गर्दै प्रदर्शन गर्दै आएका थिए । आयोजनाले ठेक्का तोड्ने तयारी थाल्नु र स्थानीयको विरोधको दबाबले निर्माण व्यवसायी पुल निर्माणलाई अघि बढाउन बाध्य भएको कार्यालय प्रमुख प्रसादले बताए । पुल निर्माण पूरा नभएसम्मका लागि आवागमन सहज बनाउन पुलको दक्षिणतर्फ डाइभर्सन निर्माण थालिएको छ ।