खानेपानी उद्योग मापदण्ड विपरीत सञ्चालन

बाँके । बाँकेका अधिकांश खानेपानी उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । उद्योगले मापदण्ड विपरीत पानी उत्पादन गर्दै मनपरी मूल्य लिने गरेको पाइएको हो । मापदण्ड विपरीत रहेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले उद्योगीलाई मापदण्ड पालना गर्न निर्देशन दिएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौडेलले मापदण्ड पालना गरी तोकिएको मूल्यमै पानी विक्री वितरण गर्न निर्देशन दिएका हुन् । अबका दिनमा मापदण्ड विपरीत पानी विक्री वितरण गरेको तथा मापदण्ड पालना गरेको नपाइएमा कारबाही गर्ने चेतावनी उनले दिए । पानी संघ बाँकेका अध्यक्ष विनय श्रेष्ठले सम्पूर्ण पानी उद्योग तथा व्यवसायीलाई सरकारले एकरूपताका साथ व्यवहार गर्नुपर्ने बताए । संघमा आबद्ध उद्योगी र व्यवसायीले प्रशोधित खानेपानीको स्वच्छता र गुणस्तरमा लापरवाही गर्न नहुने उनले बताए । खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय, नेपालगञ्जका खाद्य अनुसन्धान अधिकृत प्रतिक्षा श्रेष्ठले प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ अनिवार्य रूपमा सबै पानी उद्योगले पालना गर्नुपर्ने बताइन् । उनले खाद्य ऐन २०२३, खाद्य नियमावली २०२७ अनुसार पानीको बोटल र जारमा ‘लेबलिङ’ गरेको नपाइएमा, त्यस्ता उद्योगलाई कारबाही गरिने बताइन् । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पानी उद्योगीले नाफा मात्रै नहेरेर गुणस्तर र स्वच्छतामा ध्यान दिनुपर्ने बताए । ८० प्रतिशत रोग प्रदूषित पानीका कारण लाग्ने भएकाले उपभोक्तालाई स्वच्छ र गुणस्तरीय पानी उपलब्ध गराउनु सबैको दायित्व रहेको उनको भनाइ थियो । रासस