नेपाल प्रहरीले चन्द्रागिरी नगरिपालिकाले स्थानीय महिलाहरुलाई बाँड्न लागेको साडी बरामद गरेको छ। निर्वाचन आचार संहिता विपरित स्थानीय महिलाहरुलाई बाँड्न लागिएको ११० थान साडी बरामद गरिएको हो। चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको ११० थान साडी प्रहरीले बरामद गरेको हो । शनिबार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरूलाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि उक्त सारी बरामद गरिएको हो। प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको टोलीले चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय भवनबाट वितरण गर्न तयारी अवस्थामा राखिएको साडी बरामद गरेको हो।नगरपालिकाले साडी १ हजार २५० रुपैयाँका दरले किनेको पाईएको छ । उक्त घटनाको सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । वडा कार्यालयले महिलाहरूलाई साडी वितरण गर्न लागेको सूचना शनिबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।शुक्रबार वडाध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेको एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागिएको उल्लेख थियो. ‘वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपशीलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध छ,’ वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा उल्लेख छ।