आईएफसी र सेबोनको अध्ययन भन्छ: पूँजी बजारले नेपालको आर्थिक वृद्धिदरलाई उकास्ने सम्भावना उच्च

काठमाडौं  । पूँजी बजारले नेपालको आर्थिक वृद्धिदरलाई डोर्‍याउने सम्भावना उच्च देखिएको छ । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै गरेको एउटा अध्ययनले यस्तो देखाएको हो ।  अध्ययन प्रतिवेदनअनुसार खास गरी कर्जा पूँजी बजारको विस्तार र विविधीकरणबाट अर्थतन्त्र उकास्ने सम्भावना निकै उच्च छ । नेपाल विकासशील देश बन्ने क्रममा छ । सन् २०४५ सम्ममा नेपाल नेट जेरो देश बन्ने प्रतिबद्धता पनि छ । नेपाली पूँजी बजारको अहिलेको संरचनाको अवस्था हेरेर उच्च फाइनान्सिङ आवश्यकता र दिगो आर्थिक विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्‍याउने गरी कर्जा बजारलाई विस्तार गर्नुपर्ने सुझाव अध्ययनले दिएको छ ।  यसलाई साकार बनाउन कर्पोरेट ऋणपत्र जारीलाई बढावा दिन सेबोन र आर्ईएफसीले ऋणपत्र बजार र विकास कार्यक्रममा व्यापक सुधार गर्नेतर्फ मिलेर काम गरिरहेका छन् । तर, नेपालको समग्र पूँजी बजारको अनुपातमा कर्जा बजार निकै सानो छ । अहिलेको मुख्य कर्जा बजार भनेको मुद्रा बजार, सरकारी ऋणपत्र बजार र कर्पोरेट ऋणपत्र बजार मात्रै हो ।  मुद्रा बजार निकै सानो छ । यसमा कर्पोरेट मनी मार्केटका साधनहरू छैनन् । कर्जा पूँजी बजारको अधिकांश अंश सरकारी ऋणपत्र बजारले ओगटेको छ । कर्जा पूँजी बजारमा यसको अनुपात ८७ दशमलव १० प्रतिशत छ । तर, कर्पोरेट ऋणपत्र बजार भने कलिलो अवस्थामा छ । यो बैंकहरूले जारी गर्ने ऋणपत्रमा सीमित छ । बीमा कम्पनी, म्युचुअल फन्ड जस्ता सीमित संस्थागत लगानीकर्ता मात्रै यसमा छिरेका छन् । नेपालको कर्जा बजारमा प्रचुर सम्भावना भएको तर यसलाई खोल्न बाँकी नै भएको नेपाल, बंगलादेश र भुटानका लागि आईएफसीका कन्ट्री डिरेक्टर मार्टिन हल्टम्यान बताउँछन् । ऋणपत्र जारीसम्बन्धी प्रक्रियालाई सजिलो बनाउने, बुक बिल्डिङ संयन्त्रको स्थापना र पारदर्शिता अभिवृद्धि गर्ने हो भने घरेलु र विदेशी दुवै लगानीकर्ता आकर्षित गर्न सकिने उनको भनाइ छ । यी उपाय अपनाउने हो भने नेपालले कर्जा बजारको वृद्धिका लागि अनुकूल वातावरण सृजना गर्न सक्ने अनि व्यवसाय र पूर्वाधार विकासको लागि लगानीका नयाँ नयाँ ढोका खुल्ने हल्टम्यानले बताएका छन् । कर्जा बजारको सम्भावनालाई पूर्णरूपमा खुलाउन नियमन र सञ्चालनमा रहेको चुनौतीलाई सम्बोधन गर्न जरुरी भएको बताइएको छ ।