काठमाडौं । सरकारले थप चारवटा पर्वमा राष्ट्रिय बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहारको भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । ०७८ सालको बिदासम्बन्धी विवरण आजै राजपत्रमा प्रकाशन गर्ने तयारी छ ।
सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना, भाइटीकाको भोलिपल्ट २१ कात्तिक र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ ।
सधैँ दिइँदै आएका अन्य सार्वजनिक बिदा भने यथावत् राखिएका छन् ।