संस्थागत सुत्केरी अभियानमा शिवनाथ गाउँपालिका

नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप शिवनाथ गाउँपालिकाले ‘सुत्करीलाई उपाध्यक्षको कोशेली’ कार्यक्रमलाई निरन्तरता दिएको छ । हजार दिने आमा तथा शिशुको पोषण स्थितिमा सुधार ल्यानका लागि सो कार्यक्रम गत वर्षदेखि सञ्चालनमा रहेको छ । ‘पोषिलो आहार शिशुको स्याहार, स्वस्थ बालक स्वस्थ नागरिक’ भन्ने नारासहित यो कार्यक्रम सञ्चालन गरिएको हो ।           संस्थागत सुत्केरी बढाउन र मातृशिशु मृत्युदर घटाउन पनि यो कार्यक्रमले सहयोग गर्ने शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताउनुभयो । ‘उपाध्यक्षको कोशेली’ कार्यक्रमअन्तर्गत गर्भवती महिलाको घरमा झण्डा राख्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषिलो खानेकुरा र सरसफाइ सामग्री भएको झोला, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य जनप्रतिनिधि, संस्थाकर्मीले गर्भवती महिलासँग अन्तक्र्रिया कार्यक्रम सञ्चालन भएका छन् । यस्ता विभिन्न कार्यक्रमलाई संस्थागत सुत्केरी हुनेको सङ्ख्या बढेको उपाध्यक्ष चन्दको भनाइ छ ।           उहाँले भन्नुभयो, “गत वर्ष परीक्षणका रुपमा सञ्चालन गरेकामा प्रभावकारी देखिएकाले यो वर्ष पनि निरन्तरता दिएका हौँ ।” गाउँपालिकाभित्र रहेका गर्भवती महिलाको घर दुई किसिमको झण्डा राख्ने गरेका छौँ उपाध्यक्ष चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भवतीको स्वास्थ्य जाँच गरी सामान्य भएमा हरियो र कुनै किसिमको खतराका लक्षण देखिएमा रातो झण्डा राख्ने गरेका छौँ”, उहाँले थप्नुभयो, “झण्डा राख्दा गर्भवती महिलाको घरपरिवारलाई जिम्मेवारी बोध हुन्छ ।”           स्वास्थ्यसंस्थामै सुत्केरी हुन आउने महिलालाई पोषण र सरसफाइ सामग्री भएको झोला दिने गरिएको छ । झोलामा ज्वानो, मेथी, शुद्ध तोरीको तेल, साबुन, नेलकटर, कोलगेट, मेक्सी, पेन्टीलगायतका ११ सामग्री रहेका हुन्छन् । उहाँले भन्नुभयो, “झोला उपलब्ध हुने भएपछि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिला बढेका छन् ।”