आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई एकीकृत कारोबारका लागि नेपाल बीमा प्राधिकरणको स्वीकृति

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सलाई एकीकृत कारोबारका लागि स्वीकृति प्रदान गरेको छ । गत माघ २७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीलाई एकीकृत कारोबार शुरू गर्न प्राधिकरणले आइतवार स्वीकृति प्रदान गरेको हो ।  आगामी वैशाखको अन्तिम सातादेखि एकीकृत कारोबार शुरू गर्ने योजनामा रहेको कम्पनीहरूले अब कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट पनि स्वीकृति लिनुपर्नेछ । नियामक निकायबाट स्वीकृति पाएको एक महीनाभित्र एकीकृत कारोबार गरिसक्नुपर्ने व्यवस्था बमोजिम कम्पनीहरूले आगामी वैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका हुन् । नयाँ निर्जीवन बीमा कम्पनीको रूपमा सञ्चालित आइएमई जनरल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ८० करोड ३७ लाख ५० हजार रहेको छ । आइएमई जनरल इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट यस वर्ष ६ प्रतिशत बोनस शेयर वितरण गरी पूँजी बढाएको हो । त्यसैगरी प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब १८ करोड ६१ लाख ४४ हजार रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्सले हाल कायम चुक्तापूँजीको आधारमा ३ दशमलव ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको छ । बोनसपछि प्रुडेन्सियलको चुक्तापूँजी रू. १ अर्ब २२ करोड ५५ लाख ८३ हजार पुगेको छ । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा जान लागेका हुन् । एकीकृत कारोबारपछि बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्तापूँजी रू. ३ अर्ब २ करोड ९३ लाख ३३ हजार पुग्नेछ ।

सम्बन्धित सामग्री

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरमा जान सेबोनको अन्तिम स्वीकृति

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अन्तिम स्वीकृति दिएको छ । यी दुई कम्पनीले मर्जरमा जाने स्वीकृति पाउन वैशाख ३ गते सेबोनमा निवेदन दिएका थिए । सेबोनले कम्पनीहरूको निवेदनअनुसार यी दुई कम्पनीलाई एकआपसमा मर्ज गर्न अन्तिम सहमति दिएको हो । सेबोनले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफा (४) बमोजिम यी दुई कम्पनीलाई मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान गरेको हो । यी दुई कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । अब कम्पनीहरूले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्नेछन् ।

बीमा क्षेत्रमा चार मर्जर सफल, अझै १३ कम्पनी मर्जर प्रक्रियामा

काठमाडौं । हालसम्ममा चार इन्स्योरेन्स कम्पनीको मर्जर सफल भएको छ । निर्जीवन बीमा कम्पनीतर्फ सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया सफल भएको हो । त्यस्तै जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया पनि सफल भएको छ ।  नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पूँजी बढाउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार २०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूले न्यूनतम रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूले रू. २ अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउनुपर्नेछ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरबाटै पूँजी बढाउन निर्देशन दिएसँगै बीमा कम्पनीहरू मर्जरमा गएर तोकिएको चुक्तापूँजी पुर्‍याउने तयारी गरिरहेका छन् । मर्जर सफल भएका चार कम्पनीमध्ये पनि केही कम्पनीको चुक्तापूँजी नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम पुगेको छ भने केहीको अपुग देखिन्छ । निर्जीव बीमा कम्पनीतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको पूँजी बीमा प्राधिकरणले तोकेबमोजिम पुगेको छ भने बाँकी दुई कम्पनीको अझै अपुग देखिन्छ । त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पूँजी अपुग नै छ ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भई साउन १ गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू गरिसकेका छन् । एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर बराबर हिमालयन जनरलको ८५ किता अर्थात् १ः०.८५ को स्वाप रेशियो कायम हुने गरी यी दुई कम्पनी मर्जरमा गएका हुन् । मर्जरपछि बनेको हिमालयन एभरेष्ट कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २३ करोड रहेको छ । यसरी हेर्दा कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी अझै पुर्‍याएको छैन । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३० करोड पुग्नेछ । बोनस शेयर वितरणपछि पनि कम्पनीको चुक्तापूँजी अझै रू. २० करोड अपुग रहेको छ ।  सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरू गरेका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएका हुन् । मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोडभन्दा माथि पुगेको छ ।   त्यस्तै सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिई सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट कात्तिक ७ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । यी दुई कम्पनी पनि सामान हैसियत अर्थात् १ः१ अनुपातमा मर्जरमा गएका हुन् । मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुगेको छ । कम्पनीले बीमा प्रधिकरणले तोकेको पूँजी पुर्‍याउन अझै रू. ५० करोड अपुग रहेको छ ।  त्यस्तै जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता शेयर बराबर ज्योति लाइफको शून्य दशमलव ८२ कित्ता (१ः०.८२) अनुपातमा मर्जरमा गएका हुन् । यी दुई कम्पनी एक आपसमा गाभिएपछि बनेको कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५४ करोड पुगेको छ । कम्पनीलाई बीमा प्राधिकरणले तोेकेको पूँजी पुर्‍याउन रू. ४६ करोड अपुग रहेको छ ।  हाल १३ ओटा इन्स्योरेन्स कम्पनी मर्जर प्रक्रियामा रहेका छन् । जसमध्ये ६ निर्जीवन र ७ जीवन बीमा कम्पनीहरू रहेका छन् ।  निर्जीवन बीमा कम्पनीतर्फ आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै जीवन बीमा कम्पनीतर्फ महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स र तीन कम्पनी यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् । जीवन बीमा कम्पनीमध्ये रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरमा जान नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति पाएका छन् । बाँकी कम्पनीहरूले बीमा प्राधिकरणबाट स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्नेछन् ।