सप्तरीमा ३४ जना स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको शुक्रबार विहानदेखि सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको छ ।
सातजना स्वास्थ्यकर्मी आइसोलेशनमा र चार चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा भर्ना भएका कारण सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिनुभएको छ । स्वास्थ्यकर्मी सङ्क्रमित हुँदै जाने र अर्कोतिर आकस्मिक कक्ष, ओपीडी, इन्डोर र गाइनोका साथै आइसोलेशनमा पनि स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने स्थितिका कारण जनशक्तिको चरम अभाव भएको कारण सेवा ठप्प गर्नु परेको उहाँले बताउनुभयो ।