प्रसारण लाइन र वितरण प्रणालीको स्तरोन्नतिका लागि एसियाली विकास बैङ्क (एडीबी)ले नेपाललाई थप सात अर्ब २० करोड रुपियाँभन्दा बढी ऋण उपलब्ध गराउने भएको छ । एडीबीकै ऋण सहायतामा कार्यान्वयन भइरहेको विद्युत् ग्रिड आधुनिकीकरण परियोजनाका लागि उक्त ऋण उपलब्ध गराइने बैङ्कले जनाएको छ । सोमबार बैङ्कले जारी गरेको विज्ञप्तिमा उक्त ऋण स्वीकृत भएको उल्लेख छ ।
सन् २०२० नोभेम्बरमा स्वीकृत भएको उक्त आधुनिकीकरण परियोजनाअन्तर्गत ३४ वटा ग्रिड सबस्टेसनलाई स्वचालित बनाउने, काठमाडौँ उपत्यकामा स्मार्ट मिटर जडान गर्ने, १४४ किलोमिटर ट्रान्समिसन लाइनको स्तरोन्नति र थप ११३ किलोमिटर लाइन निर्माण र विद्युत् वितरण प्रणाली नियन्त्रण केन्द्र स्थापना हुनेछ ।