माघ १६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ३दशमलव ८० प्रतिशत अर्थात् १०५ दशलमव ५५ अंकले बढेको छ ।
यो दिन नेप्से परिसूचक २ हजार ८८५ दशमलव ५३ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २३१ ओटा धितोपत्र १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर ८१ हजार ७०६ पटकमा रू. ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ दशमलव ५७ मा खरीदविक्री भएको छ ।
यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये पाँच ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था,लिवर्टी इनर्जी कम्पनी,शिवश्री हाइड्रोपावर,नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ९ दशलमव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
यो दिन मञ्जुश्री फाईनान्सको ९ दशमलव ५ प्रतिशत मञ्जुश्री फाईनान्स डिबेञ्चर २०८५ को मूल्य सबैभन्दा बढी ३ दशमलव २३ प्रतिशतले घटेको छ । डिबेञ्चर मूल्य प्रतिकित्ता रू. ९०० कायम भएको छ ।
त्यसैगरी दोस्रोमा एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाई मूल्य २ दशमलव २३ प्रतिशतले घटेर प्रतिइकाई रू. ९ दशमलव १९ मा झरेको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । कम्पनीको रू. २६ करोड १५ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५४६ कायम भएको छ ।
यसैगरी दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको रू. २३ करोड ६२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहकै परिसूचक समग्र बढेसँगै नेप्से परिसूचक बढेको छ । कारोबारमा आएका ती समूहमध्ये सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ६ दशमलव ५६ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी बैंकिङ समूहको परिसूचक २ दशमलव ६ प्रतिशत, व्यापार समूहको ४ दशमलव ९८ प्रतिशत,होटल एण्ड टुरिजम समूहको ४ दशमलव ५८ प्रतिशत,हाइड्रोपावर समूहको ५ दशमलव ६३ प्रतिशत,वित्त समूहको ६ दशमलव ३४ प्रतिशत,निर्जीवन बीमा समूहको ३ दशमलव ३६ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको २ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै अन्य समूहको ३ दशमलव ८७ प्रतिशत,लघुवित्त समूहको ३ दशमलव २५ प्रतिशत,जीवन बीमा समूहको ३ दशमलव ४ प्रतिशत र म्युुचुअल फण्ड समूहको परिसूचक १ दशमलव ७५ प्रतिशतका दरले वृद्धि भएको छ ।
स्थानिय निकायको निर्वाचन आगामी जेठ महीनाभित्रै सम्पन्न गर्न गठबन्धन समूहका दलहरु सहमत भएसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको जस्तो देखिएको छ । केहि दिनदेखि लगातार बजार घटेको र घटेको बजारमा खरीदकर्ता हाबी भएकाले पनि यो दिन बजार बढेको देखिन्छ ।
चुनावका बेला राजनीतिक गतिविधि बढ्दा खर्च बढ्ने भएकाले बजारमा तरलता बढ्ने अनुमानका आधारमा लगानीकर्ताहरु सक्रिय भएका कारण पनि यो दिन शेयर बजारमा सकारात्मक प्रभाव परेको जस्तो देखिएको छ ।