राप्ती दशैं मेला असोज २३ देखि, महलाई विशेष प्रवर्द्धन गरिने !

चितवन । जिल्लामा राप्ती दशैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । व्यापार, व्यवसायको प्रवर्द्धन तथा कला संस्कृतिको संरक्षणका गर्ने उद्देश्यले उक्त कार्यक्रम हुने भएको हो ।  राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा असोज २३ देखि कात्तिक ४ गतेसम्म मेला सञ्चालन हुन लागेको शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । ‘उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय, समुन्नत नगरको उदय’ भन्ने नाराका साथ राप्ती–६ राजमार्गसँग जोडिएको हर्दीको खाली चौरमा मेला सञ्चालन हुने मेलाका संयोजक प्रवीण खनालले जानकारी दिए ।  मेलामा सयओटा स्टल रहने छन् । मेलामा वडास्तरीय डोरी तान्ने प्रतियोगिता, स्लो साइकल रेस, स्लो बाइक रेस, नृत्य र चित्रकला प्रतियोगिता, फुटबल ट्राइ ब्रेकरलगायतका खेलहरू पनि आयोजना हुने छन् । मेलामा ५० लाखभन्दा बढीको कारोबार हुने र ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । मेलामा महलाई विशेष महत्त्व दिन लागिएको छ । महको विशेष स्टल रहने र अतिथिहरूलाई मायाको चिनोस्वरूप मह प्रदान गरिने संयोजक खनालले बताए । मेलाबाट भएको आम्दानीबाट १३ ओटै वडाका युवा, महिलालाई स्वरोजगार तालिम, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरिने आयोजकले प्रतिबद्धता जनाएको छ । मेला प्रवेशका लागि सर्वसाधारणलाई एक सय र विद्यार्थीलाई पचास रुपैयाँ शुल्क तोकिएको छ । अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।  मेलामा प्रमोद खरेल, ज्योति मगर, स्वप्न सुमन, भूमिका गिरी, एलिना चौहान, दुर्गेश थापा, तृष्णा गुरूङलगायतका कलाकारहरूलाई बोलाउने तयारी गरिएको संयोजक खनालले बताए ।  ‘आर्थिक मन्दीले व्यापार, व्यवसाय थलिएको छ, मेलाले राहतको महसुस हुने अपेक्षा छ,’ संयोजक खनालले भने ।