स्वास्थ्यकर्मीको अभाव झेल्दै बागलुङका स्थानीय तहका आइसोलेसन

बागलुङ । बागलुङका स्थानीय तहले कोरोना महामारीसँग जुध्न सक्रियता देखाए पनि आवश्यक स्वास्थ्यकर्मी र अक्सिजन नहँुदा संक्रमितको उपचारमा समस्या भएको छ । संक्रमितको उपचारका लागि स्थानीय तहले गाउँमै आइसोलेसन सञ्चालन गरे पनि विशेषज्ञ चिकित्सक र पर्याप्त अक्सिजन नहुँदा गम्भीर प्रकृतिका संक्रमितलाई उपचारका लागि जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको स्थानीय तहको गुनासो छ । जिल्लाको काठेखोला गाउँपालिकाले महामारी नियन्त्रणका लागि भीमसेन प्राथमिक विद्यालयको खाली भवनमा १० बेडको आइसोलेसन कक्ष निर्माण गरे पनि विशेषज्ञ चिकित्सक अभावमा गम्भीर बिरामीलाई धौलागिरि अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए । ‘गाउँपालिकामा १० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ,’ अध्यक्ष थापाले भने, ‘विशेषज्ञ चिकित्सकका लागि विज्ञापन गर्दा पनि कसैले आवेदन नदिएकाले गम्भीर प्रकृतिका बिरामीलाई उपचार गर्न समस्या भएको छ ।’ गाउँपालिका अध्यक्ष थापाले जिल्ला सदरमुकाम नजिकको पालिका भएकाले बागलुङ नगरपालिकासँग समन्वय गरी १० जनाभन्दा धेरै बिरामी भए नगरपालिकामा पठाइने गरेको बताए । ‘बेड मात्र थप गरेर हुँदैन,’ अध्यक्ष थापाले भने, ‘बिरामीलाई गम्भीर समस्या देखापरे तुरुन्त अस्पताल पु¥याउनुपर्ने समस्या छ । हामीसँग चिकित्सक छैनन् । बागलुङ नगरपालिकाको आइसोलेसनमा धौलागिरि अस्पतालका चिकित्सकले समन्वय गरिरहेकाले नगरपालिकासँग समन्वय गरेर गम्भीर बिरामीलाई अस्पातल र नगरपालिकाको आइसोलेसनमा पठाउने गरेका छौं ।’ काठेखालामा जस्तै तमानखोला गाउँपालिका, निसीखोला गााउँपालिकाले पनि त्यस्तै समस्या भोग्नुपरेको छ । पालिकामा विशेषज्ञ डाक्टर नहुँदा गम्भीर बिरामीलाई धौलागिरि अस्पतालमै पठाउनुपर्ने समस्या रहेको पालिकाका स्वास्थ्य शाखाले जनाएका छन् । चिकित्सक अभावका कारण बिरामीलाई गाह्रो हुँदा र अक्सिजन लेभल घट्दै जाँदा उपचारका साथै औषधी दिन गाह्रो हुने बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । बागलुङ नगरपालिकाको आइसोलेसनमा धौलागिरि अस्पतालका डाक्टरसँग समन्वय गरी काम गरिरहेको उनले बताए । ‘हामीले अस्पतालका डाक्टरसँग समन्वय गरी काम गरिरहेका छौं,’ उनले भने, ‘नगर स्वास्थ्य शाखाको सबै टोली र नगरपालिकाभित्रका स्वास्थ्यकर्मी, विद्यालय नर्सलाई पनि आइसोलेसनमा खटाइएको छ । बिरामीलाई धेरै गाह्रो भए र तिनको समस्या अस्पतालका चिकित्सकलाई बताएर सुझावबमोजिम औषधी दिइने गरिएको छ ।’ बागलुङ नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा अस्पतालमा बेड अभाव भए कम लेबलको अक्सिजन दिनुपर्ने र निको हुँदै गएका बिरामीलाई राख्ने गरिएको स्वास्थ्य शाखा प्रमुख खनालले बताए । नगरपालिकाको आइसोलेसनमा अहिले म्याग्दी र गुल्मीका बिरामी पनि उपचाररत रहेको उनको भनाइ छ । धौलागिरि अस्पतालमा लामो समय काम गरेका खनालले स्थानीय तहमा एक्स–रे मेसिन नहुँदा जटिल प्रकारको निमोनिया पहिचानका लागिसमेत समस्या हुने गरेको बताए । ‘चिकित्सक र एक्स–रे मेसिन नहुँदा स्थानीय तहमा कोभिड बिरामीको उपचारका लागि समस्या हुन्छ,’ उनले भने, ‘बिरामीको फोक्सोको अवस्था र कुन औषधी दिने भन्नेमा चिकित्सकसँग सल्लाह लिनुपर्ने भए पनि कतिपय स्थानीय तहले सञ्चालन गरेका आइसोलेसनमा चिकित्सक नहुँदा समस्या भोग्नुपरेको छ ।’ बागलुङको जैमिनी नगरपालिका– १ जना, ढोरपाटन नगरपालिकाले आइसोलेसन निर्माण गरेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना, गल्कोट नगरपालिकामा २ जना, बडिगाड गाउँपालिकामा १ जना, बरेङ गाउँपालिकामा १ जना र ताराखोला गाउँपालिकामा १ जना विशेषज्ञ चिकित्सक रहेको पालिकाहरूले जनाएका छन् । पालिकामा विशेषज्ञ डाक्टर भए पनि अक्सिजनको प्राप्त सुविधा नभएकाले हाइफलो अक्सिजन दिनुपर्ने बिरामीलाई अस्पतालमै पठाउनुपर्ने बाध्यता छ । यस्तै, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र, गल्कोट नगरपालिका र जैमिनी नगरपालिकामा मात्र एक्स–रेको सुविधा भए पनि अन्य पालिकामा यस्तो सुविधा नभएकाले उनीहरूले पनि कोरोनाका बिरामीलाई समस्या भए धौलागिरि अस्पतालमै पठाउनुपर्ने अवस्था छ । बागलुङमा काठेखोला गाउँपालिकामा १० बेड, बागलुङ नगरपालिकामा ३५ बेड, गल्कोटमा ११ बेड, ढोरपाटनमा १० बेड, जैमिनीमा १० बेड, बरेङ गाउँपालिकामा ५ बेड, निसीखोलामा १५ बेड, तमानखोलामा १० बेड, बडिगाडमा १० बेड र ताराखोलामा १५ बेडको आइसोलेसन कक्ष छन्  । यस्तै, १० पालिकामा १ सय २७ वटा मात्रै अक्सिजन सिलिन्डर रहेका छन् । काठेखोला गाउँपालिकामा ३ वटा, बागलुङ नगरपालिकामा २५ वटा, गल्कोटमा १४ वटा, ढोरपाटनमा २१ वटा, जैमिनीमा ६ वटा, बरेङमा ८ वटा, निसीखोलामा ६ वटा, तमानखोलामा ८ वटा, बडिगाडमा २७ वटा र ताराखोला गाउँपालिकामा ९ वटा अक्सिजन सिलिन्डर छन् । २५ बेडको आइसोलेसन कक्ष रहेको धौलागिरि अस्पतालमा ३ बेडको सघन कक्ष (आईसीयू) रहेको छ । अक्सिजन प्लान्ट रहेको अस्पतालमा १ सय २९ वटा अक्सिजन सिलिन्डर रहे पनि २४ घन्टामा अक्सिजन प्लान्टबाहेक ९१ वटा अक्सिजन खपत हुने गरेको धौलागिरि अस्पतालकी व्यवस्थापन अधिकृत प्रमिला ढकालले बताइन् ।