लमजुङ । बाढी पहिराले क्षति पुर्याएको साढे २ महीना हुँदासमेत लमजुङको क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना (५० मेगावाट) सञ्चालनमा आउन सकेको छैन । गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेका आयोजनाको संरचना अझै निर्माण नहुँदा विद्युत् उत्पादन हुन नसकेको हो ।
आयोजनाका अनुसार दुईओटै टर्वाइनलगायतका संरचनामा क्षति पुगेको छ । अन्य संरचना निर्माण भइरहेको छ । यी दुवै टबाईन नै नयाँ राख्नुपर्ने भएकाले विदेशबाट ल्याउने प्रक्रियामा रहेको र अझै विद्युत् उत्पादन गर्न करीब ३ महीना लाग्ने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए ।
उनका अनुसार उक्त बाढीले आयोजनाको बाँधस्थलदेखि पावर हाउस र ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुगेको छ । यस ११ केभीका १० खम्बा बगाएको थियो भने ३० ढालेको थियो । यतिबेला खम्बा राख्ने तथा मर्मत गरिएको आयोजनाले बताएको छ ।
यसरी बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति बनाएपछि विद्युत् उत्पादन हुन नसक्दा दैनिक करीब १ करोड रुपैयाँको हाराहारीमा नोक्सान भइरहेको आयोजना जनसम्पर्क अधिकृत अधिकारीको भनाइ छ । आयोजनाका अनुसार बिजुली उत्पादन नहुँदा हालसम्म ७५ करोड रुपैयाँभन्दा बढी नोक्सान भइसकेको छ । बिजुली उत्पादन गर्न अझै ३ महीना लागेमा करीब १ अर्ब रुपैयाँ नोक्सान हुने बताइएको छ ।
क्षतिग्रस्त विद्युत्गृहका उपकरण चीनबाट आयात गर्ने तयारी भएको आयोजनाले बताएको छ । त्यस्तै क्षति पुगेका आयोजनाका अन्य संरचनामा मर्मत कार्य जारी छ । विद्युत् उत्पादन थालेको आयोजनामध्ये यो आयोजना जिल्लाकै दोस्रो हो । रासस