७ मेगावाटको ताक्सुगाड जलविद्युत आयोजनाको खरीदविक्री सम्झौता, यही वर्षदेखि निर्माण थालिने !

जाजरकोट । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनीबीच सम्झौता भएको छ । उक्त कम्पनीले निर्माण गर्न लागेको ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत खरीद विक्रीका लागि दुई निकायबीच सम्झौता भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सात मेगावाटको उक्त आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिए । ताक्सुगाड यसै आर्थिक वर्षमा निर्माण प्रक्रियामा जाने उनको  भनाइ थियो ।  चार सय १७ मेगावाटको नलगाड जलविद्युत् आयोजना भने निर्माण प्रक्रियामा छ । दुवै आयोजना नलगाड नगरपालिकाभित्र पर्दछन् । नलगाड जलविद्युत् आयोजनाको डीपीआर सकिएसँगै निर्माण चरणमा जानका लागि प्रक्रियागत काम जारी छ । रासस