डिजिटल डिस्प्ले बोर्ड : आम्दानीको गतिलो स्रोत बन्न सक्ने, दूर्घटनाको जोखिम पनि उत्तिकै

चैत १४, काठमाडौं   काठमाडौं  महानगरमा आजभोलि डिजिटल डिस्पले मार्फत विज्ञापन प्रचारप्रसार गर्ने प्रचलन बढ्दै गएको छ । पहिले एउटा डिस्प्ले बोर्डबाट एउटा मात्र विज्ञापन प्ले हुने गरेकोमा आजभोलि दैनिक रुपमा सयौंको संख्यामा विज्ञापन प्ले हुने गरेको छ । जसले गर्दा विभिन्न पेशा तथा व्यवसायको आम्दानीमा समेत वृद्धि भएको छ । हुन त डिस्प्ले खरीद गर्न सजिलो  छ । यसलाई सजिलैसँग खेर गइरहेको स्थानमा सदुपयोग पनि गर्न सकिन्छ । यसको साईज अनुसार यसको मूल्य पर्ने भएकाले उपलब्ध स्थानको क्षेत्रफल अनुसारको डिस्प्ले सेट गर्न सकिन्छ।  त्यस्तै यस्तो डिस्प्ले सञ्चालन गर्न धेरै गाह्रो पनि छैन  । महानगरपालिका तथा नगरपालिकाबाट स्वीकृती लिएर सजिलै सञ्चालन गर्न सकिने हुँदा शहर बजारमा यस्ता डिस्प्ले बोर्डको संख्या बढिरहेको छ । वर्गफिटका हिसाबले प्राविधिकले यस्ता डिस्प्ले जडान गरिदिने गर्छन् । यस्ता डिस्प्ले क्वालिटी अनुसार फरक - फरक मूल्य पर्ने गर्छ । यस्ता डिस्प्ले आउटडोर र इनडोर कुन स्थानमा राख्ने हो वा आउटडोरमा कति उचाईमा राख्ने हो सोहि अनुसार जडान मूल्य निर्धारण हुने गर्दछ । सामान्यतया १२ फिट लम्बाई र १८ फिट उचाई भएको एउटा डिस्प्ले सञ्चालन गर्न २० देखि २५ लाख रुपैयाँ खर्च लाग्ने गर्छ । तर आम्दानी पनि सोहि अनुसार हुने सञ्चालकहरु बताउँछन् ।  यस्ता डिस्प्लेमा विज्ञापनगर्दा विज्ञापनको फरक फरक दररेट रहेको छ । विज्ञापन बापत प्रतिमिनेट ५०० देखि मासिक ५० हजार रुपैयाँ लिने गरेको डिस्प्ले सञ्चालक बताउँछन् । काठमाडौंको एउटा ब्यस्त बजारमा रहेको डिस्प्लेमा प्रतिमिनेट ५०० रुपैयाँ लिने गरेको सञ्चालकहरुको भनाइ छ । प्रतिमिनेट ५०० अर्थात् एउटा विज्ञापन एक दिनमा १ घण्टा अर्थात् जम्मा ६० पटक प्ले हुँदा ३० हजार रुपैयाँ बुझाउनु पर्छ । सोहि विज्ञापन एक महीनासम्म दैनिक ६० पटक  प्रसारण गर्दा ९ लाख रुपैयाँ शुल्क लाग्ने गर्छ । अर्थात् प्रति मिनेट ५०० रुपैयाँका दरले उक्त डिस्प्ले २४ घण्टा प्ले हुँदा एक दिनमै ७ लाख रुपैयाँसम्मको विज्ञापन प्ले हुने गर्छ ।  काठमाडौंको माईतीघर, कलंकी, त्रिपुरेश्वरलगायतका स्थानमा राखिएको यस्ता डिस्प्ले चेन बिजनेसको रुपमा गर्न चाहनेका लागि समेत उपयुक्त रहेको यस्ता डिस्प्ले वितरकहरु बताउँछन् । घरमा खाली रहेको स्थानमा राखेर राम्रो आम्दानी गर्न सकिने भएकाले पछिल्लो समय यसमा धेरैले चासो राख्ने गरेको एक व्यवसायीले बताए ।  काठमाडौं महानगरकी उपमेयर हरीप्रभा खड्गी यस्ता डिस्प्लेले सहरलाई झिलिमीली बनाएर राम्रो बनाएको तर कुन स्थानमा कतिमात्रामा यस्ता डिस्प्ले राख्न दिने भन्ने स्पस्ट हुनुपर्ने बताउँछिन् । उनले यस्ता बोर्डमा आउने विज्ञापनका कारण दूर्घटनासमेत हुन सक्ने र आँफैले अनुभव समेत गरेको बताइन् । ‘म  दरवारमार्गमा जाँदै थिए त्याहाँ धेरै बोर्ड रहेछन्, त्यसमा आएको रातो लाईटले अप्ठ्यारो महसुस भयो’, उनले भनिन्,  ‘दूर्घटना हुन सक्ने देखियो ।’ सहर झिलिमिली भयो भन्दैमा घरैपिच्छे यस्ता डिस्प्ले राख्न दिनु उपयुक्त नहुने उनको तर्क छ । ‘ठूला  व्यापारिक मलहरु लगायत व्यवसायीक क्षेत्रमा यस्ता डिस्प्ले राखेपनि घरैपिच्छे दिनु उचित हुँदैन’ उनले भनिन् । यस्ता डिस्प्ले सञ्चालन गर्दा महानगरले उल्लेख्य राजस्व समेत उठाइरहेको छ । तर यस्ता डिस्प्ले दूर्घटनाको कारक समेत बन्ने गरेको कलंकीका एक स्थानीय व्यापारीले बताए । उनका अनुसार कलंकीमा राखिएको यस्तो डिस्प्लेका कारण सवारी दूर्घटनामा वृद्धि भएपछि उक्त डिस्प्लेलाई स्थानान्तरण गरिएको छ ।