सिन्धुपाल्चोक । भूकम्प र भोटेकोशी बाढीले तातोपानी नाका ठप्प भएपछि नाका सम्बद्ध व्यापारीहरू अन्य पेशामा लागेका छन् । वर्षौंदेखि गर्दै आएको व्यवसाय संकट पर्न थालेपछि उनीहरूले आयआर्जनको वैकल्पिक पेशा अँगालेका हुन् । यस्तै एउटा उदाहरण हुन्– भोटेकोशी गाउँपालिका–१ लिस्तीका अर्जुनबहादुर सापकोटा ।
२०७२ को भूकम्प अघिसम्म सापकोटा तातोपानी नाकामा खासा व्यापार गरेर वार्षिक २० लाख कमाउँथे । नेपाल यातायात स्वतन्त्र मजदूर संगठन अरनिको रूटको अध्यक्षसमेत रहेका सापकोटा नेपाल ट्रक कन्टेनर संघमा आबद्ध ९६६ ओटा ट्रकमा काम गर्ने चालक, सहचालक र मजदूरको नेता पनि भए । २०५७ देखि २०७२ सालसम्म उनले खासाको व्यापार गरे ।
समयले कोल्टे फे¥यो । भूकम्प र भोटेकोशी बाढीले नाकादेखि बाह्रबिसेसम्म क्षति पुर्यायो । कोदारी सडकको अवस्था अहिले पनि उस्तै छ । तातोपानी नाका पटक पटक बन्द हुने समस्या देखिएपछि उनले विकल्पको रूपमा कृषि पेशा अपनाएका छन् ।
१ करोड ५ लाख लगानी गरेर सापकोटाले ३७ सय किवीका बिरुवा लगााएका छन् । गतवर्ष किवीबाट पाँच लाख आम्दानी भएको उनले सुनाए । ‘भर्खर फल्न शुरू भयो,’ उनले भने, ‘केही वर्षभित्र किवीबाट वार्षिक २५ लाख आम्दानी हुन्छ ।’ लिस्तीको सेमुङ र चतलीमा ३३० रोपनी जमीन भाडामा लिएर सापकोटाले किवीसँगै आलु तथा लसुनखेती र बाख्रापालन गरिरहेका छन् । उनले उन्नत जातका १०० बाख्रा पालेका छन् । ग्लोरियस एग्रो प्रालि नामक कम्पनी दर्ता गरेर सापकोटा कृषिकर्ममा जुटेका छन् ।
सापकोटाको किवीखेतीमा १० जनाले नियमित रोजगार पाएका छन् । आफूमात्रै होइन, उनले गाउँका १०० घरपरिवारलाई पनि आधुनिक कृषि प्रणालीमा जोडेका छन् । अहिले गाउँका १०० घर मिलेर ५०० रोपनी जमीनमा सामूहिक आलुखेती र १०० रोपनीमा लसुनखेती गरिएको छ । यस वर्ष सामूहिक खेतीमा ५० लाखको आलु र १० लाखको लसुन उत्पादन भएको छ ।
२३ सय ४० मिटर उचाइमा रहेको लेकाली जमीन छेउमा पानी भए पनि सरकारका कुनै निकायले सहयोग नगर्दा सिँचाइ सुविधा नपुगेको उनको गुनासो छ । ‘हामीजस्ता कृषि पेशामा लाग्नेहरूलाई काम गर्ने वातावरण अझै बन्न सकेको छैन,’ सापकोटा भन्छन्, ‘जिल्ला र गाउँपालिकामा रहेका कृषि कार्यालयले वास्तविक किसानलाई सहयोग गरेका छैनन् ।’ भैरवकुण्डमुनि रहेको सेमुङ र चतलीमा १ हजार रोपनी जमीन बाँझै छ । स्थानीय सरकारले आधुनिक कृषि पेशामा लाग्ने किसानलाई सहयोग गर्न नसकेको सापकोटाले बताए । गाउँपालिका र कृषि कार्यालयहरूले सहयोग गरे लिस्तीलाई किवी, आलु र स्याउको पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य रहेको सापकोटाले बताउँछन् । कोदारी सडकको डाक्लाङ क्षेत्रबाट सेमुङ र चतली जाने बाटो पहिरोले बन्द भएकाले उत्पादित आलु र लसुन विक्री गर्न नपाएको सापकोटाले बताए । लेकाली भूमिमा फलेको स्वादिलो र कमलो आलुको माग जिल्लाकै बजार क्षेत्रमा बढी छ । तर, बाटो बन्द हुँदा किसानले आलुलाई बजारसम्म ढुवानी गर्न पाएका छैनन् । बस्तीमाथि छगाम र बगाममा रहेका ३०० आनीले आधाजति आलु किनेर लगेको र आधा परिमाणको आलु विक्री हुन नसकेको गुनासो उनले गरे ।
‘उत्पादन भएको कृषि उपज स्थानीय सरकारले विक्री वितरणको व्यवस्था मिलाउने हो भने युवाहरू कृषि पेशामा आकर्षित हुन्छन्,’ सापकोटा भन्छन्, ‘युवालाई पलायन हुनबाट जोगाउन पनि स्थानीय सरकारले नीति तया योजना बनाउन जरुरी छ ।’