अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डको नेपाल भ्रमण : एमसीसी कार्यान्वयन प्रमुख चासो

काठमाडौं । दुईदिने नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताएकी छन् । सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले नेपालको आर्थिक विकासमा अमेरिकाले आफ्नो सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत सहयोग गरिरहेको बताइन् । अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा र साइबर क्षेत्रमा भइरहेको अपराध रोक्न नयाँ प्रविधि सहयोग आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिबद्धता उनले व्यक्त गरिन् । नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै उनले आगामी दिनमा पनि आपसी हितका विषयमा सहयोगलाई निरन्तरता दिने बताइन् । उनले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध र लोकतन्त्रको विकास तथा सुशासनमा पुर्‍याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउने बताइन् । उपविदेशमन्त्री न्युल्यान्डले नेपालको नयाँ सरकारले अमेरिका र नेपालबीचको सम्बन्धलाई झनै सुमधुर बनाएर लैजानेमा आशावादी रहेको बताइन् । उनले सोमवार प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँगको भेटमा एमसीसी कार्यान्वयनबारे विशेष चासो राखिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग उपविदेशमन्त्री न्युल्यान्डले भेटवार्ता गरेकी थिइन् । नयाँ सरकार बनेपछि अमेरिकी सरकारका तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपालको विकास प्रयासमा संयुक्त राज्य अमेरिकाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । उपविदेशमन्त्री न्युल्यान्डले नेपालमा अमेरिकाले शुरू गरेका विकास परियोजना अघि बढाउन अमेरिका प्रतिबद्ध रहेको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । अमेरिकाले अनुदान दिएको ५० करोड अमेरिकी डलर नेपाललाई अत्यावश्यक पूर्वाधार मानिएको ४०० केभी प्रसारण लाइन निर्माण र पूर्व–पश्चिम राजमार्गको अर्घाखाँची र दाङमा पर्ने ७७ किलोमीटर सडक मर्मत तथा विस्तारमा खर्च गर्ने तयारी छ । ५० करोड डलरमध्ये ३९ करोड ८२ लाख डलर विद्युत् प्रसारण आयोजना निर्माणमा खर्च हुनेछ । ५ करोड २२ लाख डलर सडक मर्मत तथा विस्तारमा खर्च हुने मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले जानकारी दिएको छ । एमसीसी परियोजना कार्यान्वयनका लागि गठित एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपालका ठूला शहरमा विद्युत् पहुँच पुर्‍याउन र भारत निर्यात गर्न प्रसारण लाइनले ठूलो सहयोग गर्ने बताए । केही समयअघि भएको ऊर्जासचिवस्तरीय बैठकमा ८ सय मेगावाट विद्युत् भारतले खरीद गर्ने समझदारी गरिएको छ । ‘नेपाल विद्युत् प्राधिकरणले भारतसँग २–३ हजार मेगावाट विद्युत् खरीद सम्झौता गरिसकेको छ,’ विष्टले भने, ‘अहिले भारतसँग एउटा मात्रै सीमापार प्रसारण लाइन छ । त्यसमा कुनै समस्या आए हामीसँग विकल्प छैन । नयाँ प्रसारण लाइन आवश्यक छ ।’ विष्टले एमसीसीको अनुदान सम्झौताअन्तर्गत बन्ने प्रसारण लाइन नेपालका लागि अति नै आवश्यक रहेको बताए । ‘हेटौंडा, काठमाडौं, पोखरा र बुटवलनजिक प्रसारण लाइन जोडिने हुँदा ती शहरका लागि समेत फाइदा हुन्छ,’ विष्टले थपे । एमसीसी संसद्बाट पारित भए पनि अझै पूर्णरूपमा कार्यान्वयनमा जान सकेको छैन । एमसीसीबाट ५० करोड डलर र नेपाल सरकारका तर्फबाट १३ करोड डलर उक्त परियोजनाका लागि उपलब्ध हुनेछ । आयोजना निर्माणका लागि आगामी अगस्तदेखि गणना हुने गरी पाँचवर्षे अवधि प्रारम्भ हुनेछ । एमसीसीले उक्त परियोजना ५ वर्षमा सम्पन्न गर्नेछ । अहिले एमसीए नेपालले कार्यान्वयनअघि गर्नुपर्ने तयारीको प्रक्रिया अघि बढाइरहेको छ । सोही क्रममा गत मङ्सिरमा एमसीसीले प्रसारण लाइन निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो । परियोजनाले मङ्सिरको निर्वाचनलगत्तै लप्सीफेदी–रातमाटे–हेटौंडा ४०० केभी, रातमाटे–नयाँ दमौली ४०० केभी, नयाँ दमौली–नयाँ बुटवल ४०० केभी र नेपाल–भारत सीमापार ४०० केभी प्रसारण लाइनका लागि टेन्डर आह्वान गरेको थियो ।