काठमाडौं । पहेंलो रङको पहिरन । हातमा बाँसुरी । टाउकोमा मयूरको प्वाँख राखिएको मुकुट । आज काठमाडौंका विभिन्न घरमा बालकहरू यस्तै पहिरनमा देखिए । टेलिसिरियलमा ‘भगवान कृष्ण’ पात्रले लगाउने गरेको पहिरन हो यो ।
बालकहरू भगवान कृष्णको पहिरनमा सजिँदा बालिकाहरू भने राधाको भेषभूषामा थिए । अर्थात् कलियुगका 'राधा-कृष्ण'हरू द्वापरयुगका राधा-कृष्णको भेषभूषामा थिए ।
बालबालिकाहरू कृष्ण–राधाको पहिरनमा सजिनुको कारण हो– ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व । आज भाद्र कृष्ण अष्टमीमा यो पर्व देशभर धुमधामसँग मनाइएको छ ।
पर्वको अघिल्लो दिन हिजो विद्यालयहरूमा कतिपय बालबालिकाहरूले पनि यही पहिरन लगाएका थिए । काठमाडौंको शंखमुलस्थित सहारा नेसनल स्कुल, कुलेश्वरस्थित नवनीत टड्लर्स जोन विद्यालयले हिजो राधा-कृष्णको पहिरनमा आएका विद्यार्थीहरूको तस्वीर खिचेको थियो ।