मोरङ । मोरङमा हुलाकी राजमार्ग निर्माणको काम सुस्त रहेको छ । सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । अहिलेसम्म सो सडकको भौतिक प्रगति २० प्रतिशत मात्र भएको बताइएको छ ।
मोरङको रतुवाखोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको ४४ किलोमिटर हुलाकी राजमार्गको प्रगति दुई वर्ष पाँच महीनामा २० प्रतिशत मात्र पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो आयोजना निर्माणका लागि प्राप्त बजेटमध्ये ८० प्रतिशत खर्च भइसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले बताएको छ ।
२०७६ कात्तिकमा चार लेन सडक निर्माण गर्ने ठेक्का समझौता भएको थियो । सो आयोजनाको निर्माण २०७९ कात्तिक २३ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । मोरङको ४४ किलोमिटरमध्ये अहिलेसम्म चार दशमलव पाँच किलोमिटर मात्र कालोपत्र भएको छ भने सडकको दायाँबायाँ नाला निर्माण भइरहेको छ । बजेटको अभावमा कामले गति लिन नसकेको योजना प्रमुख विजयकुमार थापाले बताए ।
सो सडकमा हालसम्म साढे चार किलोमिटर कालोपत्र, १० किलोमिटर सडकमा माटो भर्ने तथा ३० प्रतिशत पूर्वाधार र ७ दशमलव पाँच किलोमिटर सबबेसको काम भएको छ । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले आफ्नो पालिकामा ठेक्का पाएका निर्माण कम्पनीले समयमा काम नगर्दा हुलाकी सडक विस्तारले गति लिन नसकेको बताए । निर्माण पूरा नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै सडक धुलाम्मे हुँदै आएको छ ।
ठेकेदार कम्पनीले ठेक्का लिएको दुई बितिसक्दा पनि २० प्रतिशत कामसमेत नभएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । उक्त सडक सुक्खायाममा धुलाम्मे तथा सामान्य पानी पर्दा पैदलसमेत हिँड्न नसक्ने गरी हिलाम्मे हुने गरेको छ । विराटनगर–रंगेली सडकखण्डमा कल्भर्ट बनाउन भत्काइएका सडकमा खाल्डाखुल्डी बनेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ भने कामको प्रभावकारी अनुगमन हुन नसक्दा ढिलासुस्ती भइरहेको स्थानीयवासी उद्धव कोइरालाको गुनासो छ ।
पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको मोरङको हुलाकी सडकमा पाँचओटा निर्माण कम्पनीले काम गरिरहेका छन् । कालिका कन्स्ट्रक्शनले ठेक्का लिएको सडकमा ६० प्रतिशत काम भएको छ भने बाँकी चारओटा ठेकेदार कम्पनीको कामको प्रगति २० प्रतिशत मात्र छ । रासस