टाटा मोटर्सद्वारा‘केयर प्लस’ सेवा सञ्चालनमा

काठमाडौं (अस) । टाटा मोटर्स नेपालले गाडी मर्मतका लागि नयाँ योजना ‘केयर प्लस’को शुरुआत गरेको छ । सिप्रदी ट्रेडिङसँगको सहकार्यमा टाटा मोटर्स प्रालिले वार्षिक मर्मत सेवा प्याकेज ‘टाटा मोटर्स केयर प्लस’ योजनाको शुरुआत गरेको हो । सवारी चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले नेपाली बजारमा हाल ९ ओटा विभिन्न मोडेलमध्ये ‘केयर प्लस’ योजना टाटा नेक्सन पेट्रोलमा मात्रै उपलब्ध रहेको जानकारी गराएको छ । भविष्यमा अन्य मोडेलहरूमा पनि सेवा विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ । कम्पनीले ‘केयर प्लस’मा सवारी मर्मत, ह्वील अलाइन्मेन्ट र सवारीसाधनको धुवाइ सहितका सेवा लिन सक्ने बताएको छ । केयर प्लस सेवा लिन गाडी किनेको १ वर्ष ननाघेको तथा साढे १५ हजार किलोमिटर नगुडेको हुनुपर्ने कम्पनीको भनाइ छ । उक्त सेवा सिप्रदीका २४ ओटा सेवा केन्द्रमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।