सरकारी संयन्त्रबीच अझै पनि समन्वयको अभाव देखिन्छ

मधुकुमार मरासिनी अर्थसचिव न्यू बिजनेश एजद्वारा आयोजित ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स’ हामी जस्ता नीति निर्माताका लागि महत्त्वपूर्ण कार्यक्रमको रूपमा रह्यो । खासगरी स्टार्टअप र सरकारबीच हुनुपर्ने छलफल एकीकृत तवरले भयो, जुन सुखद पक्ष हो । कहिलेकाहीँ सरकारले दिने सेवाका बारेमा पनि द्विविधा हुने गरेको पाइन्छ । त्यो हामीले बुझाउन नसकेको हो कि जस्तो लाग्छ । स्टार्टअप व्यवसायीहरू कर चुक्तामा अझै पनि समस्या रहेको बताउनुहुन्छ । तर त्यसो होइन । अहिले सबै ‘ट्याक्स क्लियरेन्स’, खासगरी साना व्यवसायको हकमा, अनलाइनबाट क्षणभरमै लिन सकिन्छ । अलिकति समन्वयको अभावले समस्या भएको हुन सक्छ । अर्को समस्या, अझै पनि कतिपय व्यवसाय करको दायरामा आएको पाइँदैन । ८५ ओटा व्यवसायले अहिले ५० प्रतिशत कर तिरेको अवस्था छ । उद्यमशीलता जुन रूपमा बढ्नुपर्ने हो, त्यो नभएको यो तथ्यांकले देखाउँछ । जीडीपीमा सीमित केही व्यवसायको मात्र योगदान छ । सरकारी सुविधा पनि तिनले मात्रै लिन सकेका छन् । उद्यमशीलताको क्षेत्र अघि बढाउन सरकार र निजीक्षेत्र दुवैले पहल थाल्नुपर्नेमा दुवैको जोडबल अझै नपुगेको देखिन्छ । व्यवसाय गर्न भन्दा यसबाट बाहिरिन कठिन भयो भन्ने गुनासा पनि सुनिन्छ । त्यो समस्या समाधान गर्न सरकार प्रयत्नशील नै छ । सरकारका पनि धेरै संयन्त्र छन् । कहिलेकाहीँ समन्वयको समस्याले केही कुरा सहज नहुन पनि सक्छ । यसमा सुधारको खाँचो महसूस भएको छ । व्यवसाय अघि बढाउन र वैदेशिक लगानी ल्याउन सहज होस् भनेर उद्योग विभागमा एकल विन्दु सेवा केन्द्र पनि बनायौं । तर जुन रूपमा प्रभावकारी हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । राष्ट्र बैंक, कर कार्यालय लगायतका अधिकारी त्यहाँ भए पनि कर तिर्न सम्बन्धित कार्यालयमै धाउनुपर्ने बाध्यता हटेन भने त्यसले अर्थ राख्दैन । अझै पनि हाम्रा संयन्त्रबीच समन्वयको अभावमा त्यस्ता समस्या देखिरहेका छन् । यसमा तालमेल मिलाउनुपर्छ । वैदेशिक लगानीको थ्रेसहोल्ड ५० हजार डलरबाट एकैचोटि ५ लाख डलर पुगेकोमा गुनासो आउको छ । यसमा कुनै न कुनै हिसाबले सहजीकरण गर्ने काम अवश्य हुनेछ । वैदेशिक लगानी भनेको सबै पैसा मात्र पनि होइन । हामीलाई नयाँ प्रविधि पनि चाहिएको छ । शीप विकासको पनि खाँचो छ । यसमा हामी सचेत छौं । अहिले सबैभन्दा ठूलो समस्या भनेको वैदेशिक व्यापार घाटा बढिरहेको छ । हाम्रो निर्यात त्यति हुन सकिरहेको छैन । यसमा केही वृद्धि हुँदै गए पनि चालू आवको ४ महीनामा ८२ अर्बको मात्रै निर्यात भएको छ । त्यसमा पनि कच्चापदार्थ विदेशबाटै ल्याएर यहाँ वस्तुको उत्पादन गरी मार्जिन राखेर निर्यात गरिएको छ । यसले निर्यातमा दिगोरूपमा फाइदा पुग्दैन । त्यसैले स्वदेशी उत्पादन बढाएर निर्यात प्रवर्द्धन गर्न आवश्यक छ ।