सन् २०२० को अन्तिम दिन चीनको बुहानमा देखिएको कोराना (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी हुँदै गर्दा विश्व समाजले अनिश्चयको सुस्केरा हाल्दै थियो– यो महामारीबाट कसरी छुट्कारा पाइनेछ ? समस्या अघिअघि समाधान पछिपछि भनेझैँ महामारीविरुद्ध तत्कालीन र दीर्घकालीन उपायको खोजीमा विश्वका विज्ञ समूह लाग्यो, लागिरहेको छ । सन् २०२१ समाधानको किरण लिएर उदायो– ‘खोपमार्फत महामारीको उपचार सम्भव छ ।’ विश्व बिस्तारै विश्वासको सुस्केरा हाल्दैछ महामारीबाट अवश्य छुट्कारा पाइनेछ, विजय मानिसको हातमा छ । महामारीको फैलावटसँगै विकसित देशहरू सङ्क्रमणविरुद्ध खोप बनाउन सफल हुँदै आएपछि यसले मानव जीवन सुरक्षाको दीर्घकालीन प्रत्याभूति दिएको छ । नेपालले आधुनिक र परम्परागत उपचार विधिमार्फत महामारीलाई सीमित दायरामा खुम्च्याउन सफलता पाउँदै आएको छ । महामारीले सम्पन्न देश वा अर्थतन्त्र चिन्दो रहनेछ । सम्पन्न भनिएका देशको तुलनामा सङ्क्रमणबाट नेपालमा न्यून क्षति हुनुमा सरकारको उचित समयको सही निर्णय, चिकित्सक÷स्वास्थ्यकर्मीको समर्पित सेवा, आमनागरिक मूलतः सङ्क्रमितको सुझबुझ र धैर्यले विशेष स्थान राखेका छन् । यति हुँदाहुँदै पनि सङ्क्रमणका कारण केही नेपाली दिदीबहिनी, दाजुभाइको दुःखद निधन भएको छ । यस्तो दुःखद पीडाबीच पछिल्ला दिन सङ्क्रमित हुनेको सङ्ख्या घट्दैछ भने बुधबारबाट देशैभर सङ्क्रमणविरुद्ध खोप अभियान सञ्चालन भएको छ, जसले नेपालीमा स्वास्थ्य सुरक्षाको अभूतपूर्व प्रत्याभूति वृद्धि गरेको छ ।