बाँके । बाँकेको नेपालगञ्जस्थित सामुदायिक विद्यालय धम्बोझी माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । नेपालगञ्ज–१ मा रहेको उक्त सामुदायिक विद्यालयमा विद्यार्थीको चाप अत्यधिक भएपछि विद्यार्थी भर्नामा प्रवेश परीक्षा लिनुपरेको विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदीले जानकारी दिए ।
उहाँका अनुसार धम्बोझी माविले शिशु कक्षादेखि १० सम्म विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिने गरेको छ । विद्यालयमा सीमित दरबन्दी र भौतिक पूर्वाधारको कमीका कारण सामुदायिक विद्यालय भए पनि भर्ना हुन आउने विद्यार्थीलाई सिधै भर्ना लिन नसकिएको हो ।
विद्यार्थीको चापअनुसारको कक्षा कोठासँगै बस्ने डेस्क, बेन्च अभावका कारण विद्यालयमा आउने सबैलाई भर्ना गर्न नसकिएको प्रधानाध्यापक सुवेदीको भनाइ छ । सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थी र अभिभावकलाई भौतिक पूर्वाधारको कमीका कारण भर्ना गर्नका लागि ठाउँ छैन भनेर फर्काउनुपर्ने बाध्यता छ ।
विद्यालयमा विद्यार्थीको चाप अत्यधिक बढेपछि भर्ना लिनका लागि प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने रणनीति बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलाराज उपाध्यायले बताए । विद्यालयको भौतिक संरचना कक्षाकोठा र फर्निचर अभावका कारण सबै विद्यार्थीलाई भर्ना लिन असहज भएको उनले जानकारी दिए । सो विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म दुई हजार ७३७ विद्यार्थी चालु शैक्षिकसत्रका लागि भर्ना भएका छन् । रासस