इञ्जिनीयरिङ कलेज सञ्चालनको लागि  पोखरा विश्वविद्यालय र रत्ननगर नगरपालिका बीच सम्झौता

चैत १२, चितवन । चितवनको रत्ननगरमा एक वर्ष भित्र पठनपाठन सञ्चालन गर्ने गरी इञ्जिनीयरिङ कलेज स्थापनाको लागि पोखरा विश्व विद्यालय र रत्ननगर नगरपालिका बीच शुक्रवार सम्झौता भएको छ ।  सिभिल इञ्जिनीयरिङ र अन्य इञ्जिनीयरिङको कक्षा सञ्चालन गर्ने गरी दुई संस्था बीच सम्झौता भएको हो । उक्त कार्यका लागि पोखरा विश्व विद्यालयका उपकुलपति प्रेमनारायण अर्याल र रत्ननगरका मेयर नारायण वनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  विद्यार्थी संख्या कम भएर समायोजनमा परेको रत्ननगर– १२ जिरौनामा रहेको बाघदेवी आधारभूत विद्यालयको जग्गामा आङ्गिक कलेज सञ्चालन गर्न लागिएको हो । कलेज सञ्चालनको लागि रत्ननगर नगरपालिकाले सार्मथ्यले भ्याए सम्म बजेट उपलब्ध गराउने छ । मेयर वनले कलेजको पूर्वाधार निर्माणको लागि १ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त  गरे ।  ‘इन्जिनियरिङ कलेज रत्ननगरको गहना हो’, उनले भने, ‘यसको सञ्चालनको लागि सकेसम्म लगानी गर्नेछौं ।’ मेयर वनले आर्थिक अवस्था कमजोर भएका नगरबासीका छोराछोरीलाई इञ्जिनीयर बनाउन कलेज सञ्चालन गर्न लागिएको बताए ।  कार्यक्रममा विश्व विद्यालयका रजिष्टार डा.विनोद भण्डारीले स्थापनाको २५ वर्ष पछि विश्व विद्यालयले पोखरा बाहिर रत्ननगरमा पहिलो पटक रत्ननगरमा आङ्गिक कलेज सञ्चालन गर्न लागेको बताए । आगामी शैक्षिक सत्रबाट रत्ननगरका कक्षा सञ्चालन गर्ने योजनाका साथ विश्व विद्यालय रत्ननगर आएको उनको भनाइ छ  । एक वर्षमा ८० अर्ब रुपैयाँ शिक्षाको लागि विदेशिने भन्दै उनले यसलाई रोक्न पनि पोखरा बाहिर आङ्गिक कलेज सञ्चालन गर्न लागिएको बताए  ।  उपकुलपति आचार्यले पोखरा विश्व विद्यालयको इतिहासमै पोखरा बाहिर आङ्गिक कलेज स्थापना गर्न लागिएको भन्दै यसको सञ्चालनको लागि तीनै तहका सरकारको आवश्यकता हुने बताए ।  ‘आङ्गिक कलेज सधैं घाटामा चल्ने विद्यालय हो । यसको दीर्घकालिन सञ्चालनको लागि सरकारको सहयोग जरुरी रहन्छ । हिम्मत गरेर हामी रत्ननगर आएका छौं । यो चितवनको विकासको प्रमुख आधारका रुपमा स्थापित हुने छ’, उनले भने ।