काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले पुस १३ गतेदेखि २९ गतेसम्म विक्री गरेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता अवितरित हकप्रद शेयर माघ १७ गते बाँडफाँट गरेको हो ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र विक्री प्रबन्धकले माघ ५, ६ र ७ गते तीन दिन लगाएर खोलेको थियो ।
बाँडफाँटको अन्तिम मुल्य १४७ रूपैयाँ रहेको जानकारी कम्पनीले दिएको छ । १४७ रूपैयाँभन्दा माथीको बोलकबोल गर्ने आवेदकहरूलाई माग बमोजिम र १४७ रूपैयाँमा बोलपत्र पेश गर्नेहरूको हकमा ५५ प्रतिशतले हुने समानुपातिक रुपमा शेयर बाँडफाँट गरिएको जानकारी समेत कम्पनीले दिएको छ । उक्त शेयर बाँडफाँटमा प्राप्त नगर्ने लगानीकर्ताहरूको शेयर वापत्को रकम माघ २२ गतेदेखि फिर्ता भुक्तानी गर्ने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म हाल कायम चुक्तापूँजी १० अर्ब ५९ करोड रूपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर विक्री खुला गरेको थियो । सो समयमा विक्री हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर लिलामी प्रक्रियाबाट कम्पनीले विक्री गरेको हो ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी नागरिक लगानीकोष र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले पुरा गरेको छ ।
यी सम्पूर्ण कित्ता हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रूपैयाँ कायम भएको छ । हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालिन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीले असार २२ गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस