गत जनवरी २७, २०२३ मा ‘साउथ चाइना मर्निङ पोस्ट’मा आएको समाचारमा जनाइएअनुसार चीन सरकारले जनवरी महीनाको शुरूमै विश्वका २० ओटा देशमा चिनियाँ नागरिकलाई पर्यटकका रूपमा भ्रमण गर्न अनुमति दिएको छ । तर, दुःखको कुरो त्यसमा नेपाल परेको छैन ।
चीन सरकारले आफ्नो देशका नागरिकहरूलाई विदेशमा पर्यटक भई जान अनुमति दिएको २० ओटा देशको सूचीमा सिंगापुर, हङकङ, मकाउ, थाइल्यान्ड, मालदिभ्स, मलेशिया, संयुक्त अरब इमिरेट्स, रूस, न्यूजिल्यान्ड, स्वीट्जरल्यान्ड, क्यानाडा, संयुक्त राज्य अमेरिका (यूएसए), जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, भियतनाम, कम्बोडियालगायत यूरोपेली देश रहेका छन् । चिनियाँ पर्यटकको प्रमुख गन्तव्य पनि ती २० देश नै प्रमुख रूपमा रहेको पाइन्छ । हालसालै चिनियाँ पर्यटन उद्योगसँग सम्बद्ध एक संस्था ‘चाइना आउटबाउन्ड टुरिज्म रिसर्च इन्स्टिच्युट (कोटरी) ले गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार सन् २०१९ मा १७० मिलियन चिनियाँ नागरिकहरू पर्यटक भएर विदेश घुम्न निक्लिएका थिए । सन् २०२३ मा ११० मिलियन चिनियाँ नागरिकहरू पर्यटक भएर विदेश भ्रमणमा निक्लने अनुमान गरिएको छ । सन् २०१९ मा चिनियाँ पर्यटकले विश्वका विभिन्न देश घुम्ने क्रममा २५४ दशमलव ६ बिलियन अमेरिकी डलर खर्च गरेका थिए । विगत केही वर्षदेखि धेरै भन्दा धेरै चिनियाँ नागरिकहरू पर्यटकका रूपमा विश्व भ्रमण निक्लने र विश्वकै धेरै खर्च गर्ने पर्यटकमा दरिन थालेपछि आआफ्नो देशमा चिनियाँ पर्यटक भित्र्याउन विभिन्न देशले चिनियाँ पर्यटकका लागि अनेक खाले सहुलियत र आकर्षक ‘टुर प्याकेज’ ल्याउन थालेका थिए । ट्रिप डट कम, डाटा ग्रूपलाई उद्धृत गर्दै लेखिएअनुसार सन् २०२२ को डिसेम्बर अन्तिम ताका मात्रै लाखौं चिनियाँ नागरिकले अन्य देशको भ्रमणमा जानका लागि टिकट काटेको तथ्यांक रहेको थियो ।
मेरो विचारमा चिनियाँ पर्यटक धेरैभन्दा धेरै नेपाल भित्र्याउन चीनको ठूलो र धेरै जनसंख्या भएका शहरहरू चोङकिङ, साङ्घाई, पेचिङ, छन्तु, क्वान्चाओ, शेनजेन, तियानजिन, उहान, शुझोउ, लिनयी, हार्बिन, शिझियाझुवाङ, ह्वाङझाओ, झेङझोउ, सियान, नानयाङ, गाङझोङ, हान्दाङ, छिन्ताओ, बाओदिङ, पेइफाङ, वेनझोउ, आदि शहरमा चीन–नेपाल सीधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ । यी शहरमा मात्रै ३२ दशमलव ०५ मिलियनदेखि ८ दशमलव ७८ मिलियन चिनियाँ जनताको बसोवास रहेको छ । त्यसैले ती शहरबाट शून्य दशमलव १ प्रतिशत मात्रै चिनियाँ नागरिकहरू नेपालमा पर्यटक बनेर भ्रमण गर्न आए भने उनीहरूको संख्या कति पुग्ला ? यसका लागि हामीले चिनियाँ एयरलाइन्सहरू साउथ चाइना एयरलाइन्स, चाइना इस्टर्न, एयर चाइना, हाइनान एयरलाइन्स, शाङ्घाई एयरलाइन्स, साङदोङ एयर, शेनजेन एयर, सिचुआन एयर, शियामेन एयर आदिलाई नेपालमा कम्तीमा हप्ताको एकएक उडान गराउन सके सुनमा सुगन्ध हुने थियो । हुन त गत १७ जनवरीदेखि हिमालय एयरले चीनको राजधानी पेचिङमा आफ्नो उडान सुरू गरिसकेको छ भने नेपाल एयरलाइन्सले पनि चीनको राजधानी पेचिङ, गुइयाङ, चाङसा, शेनजेन, चोङकिङलगायत शहरमा उडान गर्ने तयारी गरिरहेको भन्ने समाचार आएको छ ।
चीन सरकारले २००३ देखि मात्रै चिनियाँ नागरिकहरूलाई पर्यटकका रूपमा नेपाल आउने अनुमति दिएको हो । सोही वर्ष ७ हजार ५६२ जना चिनियाँ नागरिकहरू पर्यटकका रूपमा नेपाल भ्रमण गर्न आएका थिए । त्यसयता चिनियाँ पर्यटकको संख्या लगातार बढेको थियो, गएको २ वर्ष (सन् २०२०, २०२१, २०२२ मा) बाहेक । त्यसैले हामीले अबको केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देशलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) को रूपमा विदेश घुमिरहेका र सबैभन्दा धेरै दैनिक खर्च गरी रहेका त्यही चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा चाहिँ किन कम संख्यामा आउँछन् ? उनीहरूले नेपालमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा हामीले वेलैमा सोचेर सोहीअनुसार चिनियाँ पर्यटक भित्र्याउने रणनीति बनाउनुपर्ने देखिन्छ ।
नेपाल आउने चिनियाँ पर्यटकहरू किन छोटो अवधिका लागि मात्रै आउने गरेका छन्, किन कम खर्च गर्ने खालका चिनियाँ पर्यटकहरू मात्रै नेपाल आइरहेका छन् ? यस सम्बन्धमा पनि हामीले गहिरो गरी अध्ययन गर्नुपर्ने देखिन्छ । चिनियाँ पर्यटकहरू नेपालमा ४/५ दिनदेखि ९/१० दिनसम्म बिताउनेहरू बढी देखिन्छन् । हुन त चिनियाँ पर्यटकहरू नेपाल आएपछि एकै जनाले ट्रेकिङ, र्याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ, कायाकिङ आदि पनि गर्ने भएकाले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिक रूपमा भारतीय र अन्य देशका पर्यटकबाट भन्दा धेरै फाइदा हुने गरेको देखिन्छ । तापनि हामी डिलक्स, लक्जरियस र सक्दो खर्च गर्न सक्ने र कम्तीमा ८/१० दिनदेखि १४/१५ दिनसम्म नेपालमा बिताउने खालका चिनियाँ पर्यटक र भारतीय पर्यटकहरू धेरैभन्दा धेरै भित्र्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ । नेपाल आउने विदेशी पर्यटकहरू खासै खर्चिला हुँदैनन् भनिन्छ । चिनियाँ पर्यटकहरू ‘मक्खिचुस’ नै भने होइनन् । किनभने, संयुक्त राष्ट्रसंघ सम्बद्ध संस्था यूएन–डब्ल्यूटीओलगायत विश्व पर्यटनसँग सम्बद्ध संघसंस्थाहरूले विभिन्न समयमा गर्ने गरेको विभिन्न अनुसन्धान र सर्वेक्षणहरूमा चिनियाँ पर्यटकहरू लगातार रूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा गनिने/दरिने गरेका छन् ।
लेखक पर्यटनकर्मी हुन् ।