अन्तरराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गठन

काठमाडौं (अस) । विश्वबजारमा नेपाली उत्पादनको पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सृजना गर्ने उद्देश्यले अन्तरराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकमा रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासंघले विदेशमा नेपाली उत्पादनको प्रदर्शनी, बजारीकरण लगायत विषयमा सहजीकरण गर्ने र बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य राखेको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले शुक्रवार उक्त संस्थाको उद्घाटन गर्दै विदेशी ज्ञान, शीप र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । नेपाल अनुपम प्राकृतिक सुन्दरता र भौगोलिक विविधतायुक्त मुलुक भएकाले विश्व पर्यटनका लागि आकर्षक गन्तव्य रहेको भन्दै उनले विश्वभरबाट पर्यटक भिœयाउन पनि संस्थाले सहजीकरण गर्नुपर्नेमा जोड दिए । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कला र संस्कृति बनाउन संस्थागत लगानी आवश्यक रहेको भन्दै नेपाली चलचित्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगले विश्व बजारमा प्रतिस्पर्धी बनाउन चलचित्र क्षेत्र लागि परेको बताए । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले मुलुकको आर्थिक विकासमा विदेशी युवा उद्यमीको माध्यमबाट लगानी र प्रविधि परिचालन गरिनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपनिर्देशक गोकर्णराज अवस्थी, शिक्षा उद्यमी दिराज शर्मा, पर्यटन व्यवसायी सुमन पान्डेलगायतले नेपालमा विदेशी लगानी भित्र्याउन महासंघले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए । उक्त अवसरमा महासंघका अध्यक्ष स्वतन्त्रप्रताप साहले चीन, हङकङ, अमेरिका, बेलायत अष्ट्रेलियालगायत ११ ओटा मुलुकका युवा उद्यमीलाई समेटिएको र अन्य मुलुकका युवा उद्यमीलाई पनि संस्थामा आबद्धता गरिने जानकारी दिए ।