जेठ २३, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डरत्रास देखाएको बताएका छन्।
मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले गत शुक्रवार एक सार्वजनिक सूचनामार्फत बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको थियो ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद थापाले सहजीकरण गर्नुपर्नेमा अनावश्यकरुपमा नागरिकलाई दुःख दिन लागिएकामा आपत्ति प्रकट गरेका छन् ।
नम्बर प्लेट जडान गर्दा अत्यधिक शुल्क लिइएको, त्यसको गुणस्तरसमेत नभएको भन्दै प्रयोगकर्तालेसमेत गुनासो गरेका छन् । निजी सवारी साधनमा अनिवार्यरुपमा आगामी साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने विभागको सूचनामा उल्लेख छ ।
एकैपटक १५ लाख बढी सवारी साधनमा उक्त नम्बर प्लेट जडान गर्नुपर्नेछ । त्यस आधारमा दैनिक ५ हजार ५०० जनाले सवारी साधनमा उक्त नम्बर प्लेट राख्नुपर्ने देखिएको सांसद थापाको भनाइ छ ।
भौतिक संरचना र जनशक्तिसमेत नभएका अवस्थामा त्यसलाई सहजीकरण गर्नुपर्नेमा उल्टै उपभोक्तालाई डर देखाइएको भन्दै उनले त्यसमा सरकारकोसमेत दायित्व हुनुपर्छ कि पर्दैन भन्ने प्रश्न गरेका छन् ।
भारत र बङ्गलादेशको तुलनामा असाध्यै महँगो रहेको सो नम्बर प्लेट नागरिकले सस्तो र गुणस्तरीय पाउनुपर्नेमा उनले जोड दिएका छन् । सांसद थापाले भने, ‘सरकारले जबर्जस्ती बन्द गरोस् होइन भने नागरिकले अवज्ञा गर्नेछन् ।’
सांसद थापाले इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपीमा हुन नसकेकामा आपत्ति प्रकट गरे । अन्य देशमा आफ्नै देशको लिपीमा हुनसक्ने, नेपालमा भने किन हुन सकेन भनेर नागरिकस्तरमा प्रश्न उठेको सांसद थापाको भनाइ छ ।
तोकिएको जिम्मेवारी सम्बन्धित यातायात व्यवस्था कार्यालयले पूरा नगरेको यातायात व्यवस्था विभागका महानिर्देशकले नै सार्वजनिकरुपमा बताएको तथ्य पेश गर्दै उनले जिम्मेवारी पूरा नगर्नेलाई कारवाही गर्ने कि नागरिकलाई डर देखाएर तर्साउने भन्दै जिज्ञासा व्यक्त गरे ।