भदौ ४, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ अर्को हप्ता बाँडफाँट हुने भएको छ ।
विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्टले बिहीवार प्रि - अलोटमेण्ट सम्पन्न भएसँगै बाँडफाँटको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवश्यक कागजात पठाइसकिएको बताएको छ । धितोपत्र बोर्डबाट अनुमति पाएपछि आगामी हप्ता सोमवारसम्ममा बाँडफाँट गर्ने विक्री प्रबन्धकले जानकारी दिएको छ ।
कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि,१९ हजार ६८८ कित्ता म्युचुअल फण्डलाई छुट्याइएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरिएको थियो ।
कम्पनीको आईपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४५० कित्ताका लागि आवेदन दिएका थिए । यो सर्वसाधारणको लागि माग गरिएको भन्दा ८३ दशमलव १० गुणा बढी आवेदन हो । यस आधारमा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने बाँकी २३ लाख ६६ हजार १९५ जनाको हात खाली हुनेछ ।
कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बि प्लस रेटिङ प्रदान गरेको छ ।
यस्तो रेटिङले कम्पनीले समयमै वित्तीय दायित्तव पुरा गर्ने सम्बन्धमा उच्च जोखिम जनाउँछ ।