धौबादी फलाम खानी : सम्भाव्यता र डीपीआरका लागि कम्पनी छनोट

काठमाडौं । धौबादी फलाम कम्पनी लिमिटेडले नवलपुरको धौबादीमा रहेको खानीको सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न विभिन्न ६ ओटा कम्पनी छनोट गरेको छ । भारत, चीन, दक्षिण अफ्रिका र अस्ट्रियाका ६ ओटा कम्पनी छनोट गरिसकेको छ र उनीहरूलाई यसै हप्ता आर्थिक तथा प्राविधिक प्रस्ताव बुझाउने समय तोकिएको छ । कम्पनीले आह्वान गरेको टेन्डरमा यी कम्पनीसहित ११ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये कम्पनीले ६ ओटालाई छनोट गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.जनकबहादुर चन्दले साउन पहिलो हप्ता ती कम्पनीहरू छनोट गरिएको जानकारी दिए । यी छनोट भएका कम्पनीमध्ये एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन र डीपीआरका लागि ठेक्का दिइने उनले बताए । उक्त कम्पनीले ३ महीनाभित्र सम्भाव्यता अध्ययन गर्नेछ । कम्पनीका सीईओ चन्दले अध्ययनपछि मात्रै डीपीआर बनाइने र त्यसका लागि भने ७ महीनाको समय दिइने जानकारी दिए । धौबादी फलाम खानीबाट व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने पुष्टि भएको ९ महीनापछि कम्पनीले यी अध्ययन तथा प्रतिवेदन तयार गर्न कम्पनी छनोट गर्दै छ । उनले यो चालू आर्थिक वर्षमा अध्ययनको काम सम्पन्न गरेर उत्पादनतर्फ लाग्ने जानकारी दिए । गतवर्ष औद्योगिक तथा व्यावसायिक उत्पादनको यकिन गर्न चीन पठाएको फलामे ढुंगा (कच्चा फलाम) को अन्तिम नमूना परीक्षणपछि सम्भाव्यता र डीपीआर बनाउने बाटो खुलेको थियो । फलामको उत्पादन, उत्खनन, भण्डारण, प्रविधि छनोटदेखि लगानीसम्मका विषय यकिन गर्न सम्भाव्यता अध्ययन गरिने र त्यसैका आधारमा डीपीआर बनाउने कम्पनीको तयारी छ । खानीक्षेत्रमा हालसम्म ८६४ मीटर ड्रिलिङ गरिएको चन्दले बताए । खानीक्षेत्रमा रहेका पाँचओटा होलमा गरी कुल १ हजार ३०० मिटर ड्रिलिङ गरेपछि भण्डारण तथा खानीको उत्पादन क्षमतालगायत विषय यकिन हुने उनको भनाइ छ । ड्रिलिङको काम भइरहेको उनले बताए । छानिएका कम्पनीहरूका चीनका २ कम्पनीहरू क्यापिटल इन्जिनीयरिङ एन्ड रिसर्च इनकर्पाेरेशन लि र शेडोङ जीईओ–सर्वेइङ एन्ड म्यापिङ इन्स्टिच्युट तथा भारतका २ कम्पनी रहेका छन् । यसैगरी दक्षिण अफ्रिका र अस्ट्रियाका कम्पनी पनि छनोटमा परेका छन् । सरकारले उक्त क्षेत्रबाट व्यावसायिक रूपमा फलाम उत्पादन गर्न २०७६ साउनमा कम्पनी स्थापनाका लागि स्वीकृति दिएको थियो । कावासोतीबाट उत्तरतर्फ हुप्सकोट गाउँपालिका ५ मा पर्ने धौबादीमा १० किलोमीटरमा फलाम भएको पुष्टि भइसकेको छ । खानी १० किलोमीटर लम्बाइ, १५ देखि ३० मीटर चौडाइको रहेको छ । देशको सबैभन्दा ठूलो खानीमा १० करोड मेट्रिक टन कच्चा फलाम रहेको अध्ययनबाट देखिएको छ ।

सम्बन्धित सामग्री

धौबादी फलाम खानी : विस्तृत सम्भाव्यता अध्ययन गर्न ६ अन्तरराष्ट्रिय कम्पनी छनोट

काठमाडौं । धौबादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययनका लागि ६ ओटा अन्तरराष्ट्रिय कम्पनी छनोटमा परेका छन् । पूर्वी नवलपरासीको हुप्सेकोटस्थित फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन गर्न भारत, चीन, बेलायत, क्यानडा र अष्ट्रियाका गरी ६ ओटा कम्पनीहरू छनोटमा परेका हुन् । अध्ययनका लागि आवेदन दिएका सबै कम्पनी छनोटमा परेको धौबादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.जनकबहादुर चन्दले जानकारी दिए । कम्पनीका अनुसार चीनका २ कम्पनी क्यापिटल इन्जिनियरिङ एण्ड रिसर्च इन्कर्पोरेशन लिमिटेड र चाइना इन एसोसिएशन विथ डेभलपमेन्ट सर्पाेट कन्सल्ट, क्यानडाको माइकोन इन्टरनेशनल लिमिटेड जेभी इआरएमसी, भारतको डाष्टर–एसआरके–जादे जेभी, इङ्ल्याण्डको लण्डन रोड र अष्ट्रियाको हष्र्ट विसिङ्गर कन्सल्टिङ जीएमबीएच जेभी सम्भाव्यता अध्ययनका लागि छनोटमा परेका हुन् । छनोटमा परेका ६ कम्पनीमध्ये एक कम्पनीले पूर्वी नवलपरासीको धौबादीमा सञ्चित रहेको फलामे ढुंगा तथा आइरन ओरबाट उत्पादन हुने फलाम तथा स्टील प्लान्टको विस्तृत सम्भाव्यता अध्ययन गर्ने चन्दले जानकारी दिए । यी कम्पनीहरूसँग आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरिएको उनले बताए ।  यीमध्येबाट छनोट हुने एक कम्पनीले सम्भाव्यता अध्ययनको प्रतिवेदन ३/४ महीनाभित्रमा बुझाउनेछ । खानीमा १० करोड मेट्रिक टन फलामको भण्डार भएको प्रारम्भिक तथ्यांक भए पनि केही समयअघि कम्पनीले विज्ञ टोलीको सहभागितामा गराएको अध्ययनले भण्डारण अझ बढी भएको पत्ता लगाएको छ । चन्दले उक्त खानीमा फलामको भण्डार १५ करोड मेट्रिक टन रहेको जानकारी दिए । यद्यपि खानीको ड्रिलिङ गरिएको प्रतिवेदन आएपछि यकीन तथ्य आउने उनको भनाइ छ । सम्भाव्यता अध्ययन सकिएपछि मात्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने कम्पनीले जानकारी दिएको छ ।  यसका लागि पनि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरिनेछ । उक्त खानीमा फलाम रहेको तथा चीनमा लगेर परिक्षण गरिएको ओर तथा कच्चा फलामे ढुंगाबाट पनि फलाम तथा बिलेट बनाउन सकिने प्राविधिक पुष्टि भइसकेको छ ।  तर, विस्तृत सम्भाव्यता अध्ययनले खानीबाट व्यावसायिक रूपमा कति फलाम निकाल्न सकिन्छ भन्ने तथ्य जानकारी हुने चन्दको भनाइ छ । चालू आर्थिक वर्षमा सम्भाव्यता अध्ययन सकिने भन्दै उनले डीपीआर प्रतिवेदन भने यो वर्ष तयार नहुने जानकारी दिए । नेपालमा पहिलोपटक खानीको काम हुन लागेकाले अन्तरराष्ट्रिय जनशक्तिबाट काम गरिरहेको उनले बताए । आर्थिक वर्ष   २०६७/६८ देखि अन्वेषण शुरू गरिएको धौबादी फलाम खानीबाट व्यावसायिक उत्पादनका लागि अझै समय लाग्ने उनले बताए ।