फागुन ३०, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा सोमवार कच्चा तेलको भाउ घटेको छ ।
गत हप्तादेखि नै ओरालो लागेको तेलको भाउले हप्ताको पहिलो दिनमा पनि कमी बेहोरेको हो । रूसले युक्रेनसँग ठोस वार्ता गर्न इच्छुक रहेको संकेत गरेको अमेरिकी अधिकारीहरुले बताएपछि तेलको भाउ ओर्लिएको हो ।
लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहानी कारोबारमा तेलको भाउ प्रतिब्यारेल १ दशमलव ९१ प्रतिशतले घटेर ११० डलर ५२ सेन्टमा आएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको भन्दा २ डलर १५ सेन्ट कम हो । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा यूएस क्रुडको भाउ पनि २ दशमलव ६८ प्रतिशतले घटेर १०६ डलर २३ सेन्टमा आएको छ ।
रुसले फेब्रुअरीको अन्त्यतिर युक्रेनमाथि हमला गरेको थियो । उक्त घटनापछि विश्वभर ऊर्जा बजार त्रस्त देखिएको थियो । तर मार्च ७ मा प्रतिब्यारेल १३९ डलर १३ सेन्टको उच्च बिन्दुमा पुगेको भएपनि हप्ताभरको कारोबारमा भने ब्रेन्टको भाउ ५ दशमलव ७ प्रतिशतले घटयो । मार्च ७ मा प्रतिब्यारेल १३० डलर ५ सेन्टको उच्चतम् बिन्दुमा पुगेको यूएस क्रुडको भाउ पनि गएको हप्ता ५ दशमलव ७ प्रतिशतले घट्यो ।
रुसको कदमपछि लगानीकर्ताहरु तेल बजारमा कसिलो आपूर्तिप्रति चिन्तित थिए । युक्रेनी संकटका कारण आपूर्तिमा देखिएको अवरोधमा सुधार आउने आकलन व्यापारीहरुले गत हप्ता गरेपछि तेल बजार मत्थर देखिएको छ ।
युक्रेनमाथि आक्रमण तीव्र पारिरहेको भएपनि रुसले युक्रेनको विषयमा ठोस वार्ता गर्ने इच्छा देखाउन सक्ने अमेरिकी उप- विदेशमन्त्री वेन्डी शेर्मनले आइतबार बताएका थिए । सोमबारदेखि रुस र युक्रेनबीच वार्ता शुरू हुने बताइएको छ । एजेन्सी