काठमाडौं। काठमाडौंको प्रमुख पर्यटकीय स्थान हनुमानढोका परिसर पूर्ण रुपमा नो भेइकल जोन भएको छ । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । प्राचीन सम्पदाको मौलिकता र सौन्दर्यतालाई जोगाउनका लागि महानगरले वसन्तपुरको हनुमानढोका परिसरसभित्र सवारी साधन प्रवेशमा रोक लगाएको हो ।
हनुमानढोकामा रहेका पुरातत्व हेरचाह अड्डा, नेपाल प्रहरी, नेपाली सेना र अन्य सरोकारवाला निकायको सवारीसाधनको प्रवेशमा पनि रोक लगाइने महानगरपालिकाका सम्पदा सल्लाहकार यादवलाल कायस्थले बताएका छन् । नो -भेइकल जोन सर्वसाधरणको लागि मात्रै होईन, हनुमानढोकामा रहेका पुरातत्व हेरचाह अड्डा, नेपाल प्रहरी, नेपाली सेना र अन्य सरोकारवाला निकायको सवारीसाधनको प्रवेशमा पनि रोक लगाइने छ,' उनले भने ।
महानगरका मेयर बालेन्द्र शाह 'बालेन'ले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले मौलिकता जोगाउन आवश्यक भएको बताए । ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्’, उनले फेसबुकमा लेखेका छन्, ‘अनुभव गर्न र रमाउन लाखौँ पर्यटक आउन सक्छन् ।’
मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसरभित्र गाडी निषेध गरिएको मेयर शाहले बताए । सम्पूर्ण गाडीहरु, एम्बुलेन्स, दमकल र पानीको गाडी बाहेक अरु सबै सवारी साधनलाई सोमवार देखि नै बन्द गरिसकिएको छ ।
सम्पदा क्षेत्रमा जानेहरुका लागि न्युरोड, विशाल बजार र अन्य बाहिरी क्षेत्रमा पार्किङ गर्नुपर्ने महानगरीय प्रहरी बल काठमाडौंका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए ।
तस्वीरहरु : सुनिल शर्मा / आर्थिक अभियान