विद्युतीय बसका लागि पुनः अन्तरराष्ट्रिय बोलपत्र आह्वानको तयारी

हेटौंडा । बागमती प्रदेश सरकारले विद्युतीय बस खरीदका लागि पुनः अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ । प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले सो बोलपत्र आह्वान गर्न लागेको हो ।      बोर्डले २०७७ चैत १८ मा विद्युतीय बस खरीदका लागि आह्वान गरेको बोलपत्र रद्द गरी पुनः बोलपत्र गर्ने तयारी थालेको निर्देशक जगदीश ढुंगानाले जानकारी दिए । उनका अनुसार मन्त्रालयले बस खरीदका लागि अध्ययन गरी तयार परेको लागत अनुमानभन्दा बढी रकमको बोलपत्र परेकाले सो बोलपत्र रद्द गर्नुपरेको थियो ।       लागत अनुमानभन्दा २९ दशमलव ८३ प्रतिशत बढीको प्रस्ताव बोलपत्रदाताले पेश गरेकाले रद्द गर्नुपरेको निर्देशक ढुंगानाको भनाइ थियो । यसका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया सम्पन्न गरी दशैं अगाडि नै बोलपत्र आह्वान गर्न मन्त्रालयसँग सहकार्य भइरहेको छ । पहिले नै आह्वान गरिएको लागत मूल्यमा ३० ओटा विद्युतीय बस र १५ ओटा चार्जर खरीदका लागि ग्लोबल टेन्डर आह्वान गरिने उनले बताए । हालै मन्त्रालयमा भएको सचिवको हेरफेरले यो काम केही दिन पर सरेकामा अब केही दिनमै बोर्डको बैठक बसेर निर्णय हुने र प्रक्रिया शुरू गरिने निर्देशक ढुंगानाले बताए । बस सञ्चालनका लागि आवश्यक चार्जिङ स्टेशन निर्माणको प्रक्रियासमेत अघि बढाइनुका साथै मन्त्रालय र बोर्डका प्रतिनिधिले संयुक्त रूपमा विभिन्न जिल्लाको स्थलगत अवलोकन गरेका थिए । बस सञ्चालन हुने मार्गका केही स्थानमा चार्जिङ स्टेशन निर्माण प्रक्रिया शुरू गरिएकोे छ । रासस