शिक्षकलाई तलब दिन विद्यालय परिसरमा अदुवाखेती

रोल्पा (अस) । निजी स्रोतका शिक्षकलाई तलब दिन रोल्पाको एउटा विद्यालयले अदुवाखेती शुरू गरेको छ । रोल्पा नगरपालिका–२ देउरालीस्थित सरस्वती आधारभूत विद्यालयले अदुवा र केही फलफूलका बिरुवा लगाएको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई तलब खुवाउन अभिभावकबाट सहयोग उठाउँदै आएको विद्यालयले आफ्नै आय स्रोतबाट व्यवस्था गर्ने उद्देश्यले अदुवाखेती शुरू गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर ओलीले बताए । विद्यालयको आम्दानी बढाउन थप खेती विस्तार गर्ने योजना रहेको पनि अध्यक्ष ओलीको भनाइ छ । विद्यालयको आम्दानी बढाउन शुरू गरिएको तरकारी र फलफूलखेतीमा अभिभावकहरूले पनि सहयोग गर्दै आएका छन् । सदरमुकाम नजिकै रहेको यो विद्यालयमा हाल ९० जना बालबालिका अध्ययन गरिरहेका छन् । विद्यालयले आम्दानीको स्रोतसँगै शैक्षिक गुणस्तर पनि वृद्धि गर्ने योजना बनाएको छ ।